२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रत्नपार्कमा अबदेखि निःशुल्क इन्टरनेट 



काठमाडौँ 
काठमाडौँको रत्नपार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।
महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउछन् ।
“निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५ सय एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्”, उनले भने ।
अव्यवस्थित रत्नापार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ मा करिब रु ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।
काठमाडौँ महानगरपालिकाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । महानगरपालिकाअन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।
रत्नपार्कभित्र छिर्नका लागि हाल विद्यार्थीलाई रु २०, सर्वसाधारणलाई रु ३० र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई रु १०० लाग्ने गरेको छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले रु १००, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा रु पाँच हजार, विवाह फोटो सुटका लागि रु ५००, व्यावसायिकरूपमा फोटो खिच्नेले रु एक हजार ५०० र सांस्कृतिक पोशाक झल्काउन जानेले रु १०० शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । महानगरले रत्नपार्कबाट हाल वार्षिक रु ५० लाखदेखि एक करोडसम्म आम्दानी गर्दै आएको छ ।
शंखधर उद्यान तथा रानीपोखरी एकाइका प्रमुख उत्तमकुमार घले पछिल्लो सयम रत्नपार्क छिर्नेको सङ्ख्या बढेको बताउछन् । रत्नपार्कभित्र चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ६१ हजार ५३७ जना प्रवेश गरेका छन् । तीमध्ये १२ हजार ८५० विद्यार्थी र ४८ हजार ६८७ रहेका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिलालाई रत्नापार्क प्रवेशमा शुल्क लाग्दैन । महानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा रु १८ लाख १४ हजार ४१० राजश्व सङ्कलन गरेको छ ।
महानगरले रत्नपार्कभित्र क्यामरा लगेवापतको शुल्क रु दुई हजार ६ सय, व्यवसायिक रिलवापत रु एक हजार ५ सय, सर्वसाधारण प्रवेश शुल्क रु १४ लाख ६० हजार ६ सय १०, विद्यार्थी प्रवेश शुल्क रु दुई लाख ५७ हजार, दोहोरी गीत म्युजिक भिडियो सुटिङवापत रु सात हजार, पर्यटक प्रवेश शुल्कवापत रु ७१ हजार ५००, ड्राइफुड पिकनिकवापत रु चार हजार २ सय, चलचित्र सुटिङवापत रु १० हजार आम्दानी गरेको छ ।
रत्नपार्कमा हाल दैनिक ५ सयदेखि एक हजार व्यक्ति घुम्नका लागि आउने गरेका छन् । शनिबार र बिदाको दिनमा भने त्योभन्दा धेरै हुने गरेको उद्यानका प्रमुख घले बताउनुहुन्छ । रत्नपार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेका छन्  ।
रत्नपार्कभित्र बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शंखधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको छ ।
उद्यानका प्रमुख घले रत्नपार्कभित्र हाल पानीको अभाव रहेकाले बोटविरुवा संरक्षणमा समस्या परेको बताउनुहुन्छ । पानी ट्यांकरमा ल्याएर फूल तथा बोटविरुवालाई हाल्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । उक्त उद्यानमा चाँडै नै पानीको फोहोरासमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, बिहिबार  १२ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।