२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका सात ग्रिड सबस्टेसन अब स्मार्ट र पूर्ण स्वचालित



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सातवटा पुराना ग्रिड सबस्टेसन अब पूर्ण रूपमा स्वचालित भएका छन्। विद्युत प्रणालीलाई आधुनिक, स्मार्ट र स्वचालित बनाउन सुरु गरिएको दीर्घकालीन योजनाअन्तर्गत पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुरका सबस्टेसनलाई नयाँ प्रणालीमा जोडेर सञ्चालनमा ल्याइएको हो।

अब यी सबै सबस्टेसन मीनभवनस्थित प्राधिकरणको नियन्त्रण कक्षबाट सञ्चालन हुनेछन्। स्वचालित रूपमा सबस्टेसन सञ्चालन गर्नको लागि नयाँ नियन्त्रण कक्षसमेत निर्माण गरिएको छ। बाँकी छ वटा सबस्टेसन—स्यूचाटार, टेकु, मातातीर्थ, चावहिल, के ३ र लामासाँघु—दुई महिनाभित्र स्वचालित प्रणालीमा जोडिनेछन्।

स्वचालित सबस्टेसन स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरवाइजरी नियन्त्रण तथा डाटा प्राप्तिमार्फत जोडिँदा प्रणालीको सञ्चालन थप मजबुत र स्थिर हुनेछ। पूर्ण स्वचालित भएपछि बारम्बार हुने विद्युत अवरोध कम हुने, वास्तविक समयमा तथ्याङ्क प्रयोग गरेर भार व्यवस्थापन सहज हुने, सञ्चालन खर्च घट्ने, प्राविधिक क्षति कम हुने र स्मार्ट ग्रिड विकासमा ठूलो योगदान पुग्नेछ।

स्वचालित सबस्टेसन निर्माण एशियाली विकास बैंक (एडीबी)को विद्युत प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमार्फत सम्पन्न गरिएको हो। यस आयोजनाको कुल लागत करिब ६१ करोड रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २० मंसिर २०८२, शुक्रबार  २ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।