१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली फिल्म ‘आँखा’लाई एसिया प्यासिफिक फिल्म अवार्ड



काठमाडौं । निर्देशक जौन योञ्जनको निर्देशनमा बनेको नेपाली फिल्म ‘आँखा’ ले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो सफलता हात पारेको छ। मलेसियामा सम्पन्न ६२औँ एसिया प्यासिफिक फिल्म महोत्सवमा फिल्मलाई ‘उत्कृष्ट फिल्म’ को अवार्ड प्रदान गरिएको हो। अवार्ड कार्यक्रममा फिल्मकी मुख्य अभिनेत्री स्मिता लामिछानेले ट्रफी ग्रहण गरेकी थिइन्।

अवार्ड जितेपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै अभिनेत्री लामिछानेले लेखेकी छिन्,“यो हाम्रो सम्पूर्ण टिमका लागि निकै ठूलो उपलब्धि हो। कथा र यात्रामा विश्वास गर्ने सम्पूर्ण कलाकार, प्राविधिक टोली तथा दर्शकहरूलाई धन्यवाद।”

जौन योञ्जनको निर्देशनमा बनेको ‘आँखा’ले सुकुम्बासी बस्तीमा बसोबास गर्ने सामान्य नागरिकहरूको जीवन, संघर्ष र यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। फिल्मले घरेलु बक्स अफिसमा अपेक्षाकृत कम व्यापार गरे पनि समीक्षकहरूले भने उत्कृष्ट प्रतिक्रिया दिएका थिए। फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङलगायत कलाकारहरूको दमदार अभिनय समावेश छ।

उक्त महोत्सवमा अर्को नेपाली फिल्म ‘शाम्बाला’ पनि अवार्ड जित्न सफल भएको छ। मीन बहादुर भामको निर्देशनमा बनेको यस फिल्मले ब्याकग्राउन्ड स्कोर विधामा अवार्ड प्राप्त गरेको हो। ‘शाम्बाला’ यसअघि राष्ट्रिय अवार्ड, लोकार्नो, निफलगायतका प्रतिष्ठित फेस्टिभलहरूमा पनि अवार्ड जितिसकेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।