काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ। चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको हो। युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।
हालै नेपालमा घटेका वास्तविक घटनाबाट प्रेरित कथावस्तुमा आधारित फिल्मले गहन विषयलाई सूक्ष्म ढंगले प्रस्तुत गरेको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए। उनका अनुसार सामाजिक यथार्थलाई संवेदनशील तरिकाले देखाउने प्रयास गरिएको छ।
फिल्ममा समावेश काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर रहेको गीत ‘आम नेपाली बुबा’ ले सार्वजनिक भएपछि दर्शकमाझ उल्लेखनीय हाइप बनाएको छ। निर्माण टिमले यस गीतको प्रभाव बक्सअफिसमा पनि देखिने अपेक्षा गरेको छ।
सेन्सर पास भएसँगै फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। मल्टिप्लेक्स हलहरूले फिल्मलाई राम्रो शो दिएका छन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा ११ र मोफसलमा ११ गरी कुल २२ शो दिएको छ। त्यस्तै, आईएनआई सिनेमाजले ६ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाले २ शो गरी देशभर करिब ५९ शोमा अग्रिम बुकिङ खुला गरिएको छ। अन्य हलहरूमा पनि बिहीबार साँझसम्म फाइनल शो सार्वजनिक हुने जनाइएको छ।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन्। छायांकनका लागि उनी अमेरिकाबाट नेपाल फर्किएका थिए।
फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ‘पाँडे’, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ। यसै फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा डेब्यू गरेका छन् भने बाल कलाकार दिप्सन चिलवाल पनि देखिने छन्। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको विशेष उपस्थिति रहेको छ।
निर्देशक घिमिरेकै कथा रहेको फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले संयुक्त रूपमा लेखेका हुन्।







प्रतिक्रिया