१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


साहित्यकार बुद्धिसागरलाई चलचित्र क्षेत्रमा ल्याउन चलचित्र निर्माण 



मैले मनछुने चलचित्र तयार गरेजस्तो लागेको छ । किनकी यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ
काठमाडौँ
पछिल्लो समय कलिया कथा भएका चलचित्र चल्न थालेका छन् । राम्रो कथा, पटकथा र कलाकारहरुसँगै नयाँ र मेहनती निर्देशकका चलचित्र बक्सअफिसमा हिट भएको देखिन्छ । तर चलचित्रमा साहित्य र कलात्मक चेत भएका साहित्यकारहरुको संलग्नता न्युन छ ।
‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उनको कथामा ‘के घर के डेरा घ नं २’ चलचित्र निर्माण गरेका हुन् ।
निर्देशक खनालले केही वर्ष अगाडिदेखि बुद्धिसागरलाई चलचित्रमा कथाकारका रूपमा ल्याउन उनको कथामा चलचित्र निर्माण गरिएको निर्देशक खनाल बताउछन् । “साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् त”, भन्ने प्रश्नमा खनाल भन्छन्, “कथाको मर्म बुझ्ने निर्देशक नपरेमा साहित्यकारको कथाले न्याय पाउँदैन । बुद्धिसगरजीले लेख्नुभएको पटकथामा हरेक जानकारीलाई सुक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । तर, हामी निर्देशकले एउटा सीमित समय भित्र कथा भनिसक्नुपर्ने हुन्छ । त्यसकारण  कथाको मर्म प्रस्तुत हुनेगरी दृश्यमा उतार्ने खुबी निर्देशकमा हुनु जरूरी छ ।”
निर्देशक खनालले बुद्धिसागरको पटकथालाई चलचित्रको शैलीमा रूपान्तरण गरेर चलचित्र कस्तो बन्छ भन्ने बारेमा जानकारी दिएर काम सुरू गरेको बताएका छन् । साहित्यकारले लेख्दा सामान्य कथा जस्तो सुन्दर हुन्छ, चलचित्रमा त्यस्तै सुन्दर तवरले प्रस्तुति गरिएको निर्देशक खनालको दाबी छ ।
निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गर्नुभएको थियो । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले बताएका छन् । किनकि ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ ।
म आफैँ लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्
“मैले मनछुने चलचित्र तयार गरेजस्तो लागेको छ । किनकी यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ”, निर्देशक खनालले भने ।
अभिनेता खगेन्द्र लामिछानेले निर्देशक खनालले झैँ पटकथाको सुन्दरता पात्रहरूको उदयसँगै अवतरण रहेको बताएका छन् । आफैँ लेखक भएकाले अभिनेता लामिछाने लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार छन् ।
“पात्रलाई चलचित्रमा जसरी सुरूआत गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैँ लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्”, उनले भने ।
डेरावाल वा घरबेटीको मात्र कथा होइन । चलचित्रमा रहेका पात्रहरू कसैको आफ्नै घर छ त, कसैको डेरा छ, कोहीसँग दुवै छैन
‘पशुपति प्रसाद’ जस्तो चलचित्रमा लेखकसँगै अभिनेतासमेत रहनुभएका लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्गानिक’ हुने उहाँको बुझाइ छ ।
“हामीले गाउँका कथालाई मात्र मौलिक वा ‘अर्गानिक’ भनेर सहरका कथालाई नजरअन्दाज गरिरहेका छौँ । हामीले यो सोच बदल्नुपर्छ । किनकी गाउँभन्दा सहरका गरिब दयनीय हुन्छन् । उनीहरूले गाउँ जस्तो सहजै जीविकोपार्जन गर्न सक्दैनन् । त्यसकारण हामीले ‘अर्गानिक’को परिभाषालाई बृहत् बनाउनुपर्छ”, अभिनेता लामिछानेले भन्नुभयो ।
यस चलचित्रमा अभिनेत्री केकी अधिकारीले डेरावालको भूमिकामा हुनुहुन्छ । अभिनेत्री अधिकारीले चलचित्रमा अन्य पक्षको कथा पनि देख्न पाइने बताउनुभयो । “डेरावाल वा घरबेटीको मात्र कथा होइन । चलचित्रमा रहेका पात्रहरू कसैको आफ्नै घर छ त, कसैको डेरा छ, कोहीसँग दुवै छैन । त्यसकारण यो कथालाई घरबेटी र डेरावालमार्फत प्रस्तुत गरिए तापनि यो समग्रमा सफलताका लागि मेहनत गरिरहेका सम्पूर्णको कथा हो”, उहाँले भन्नुभयो ।
चलचित्रमा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गर्नुभएको छ । यो चलचित्र आगामी जेठ २ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।