काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद कार्कीले वर्तमान सरकार गठन भएको एक वर्ष पुगिसक्दा समेत जनतालाई गरिएको कुनै पनि वाचा पूरा नभएको टिप्पणी गरिन्। उनले संविधान संशोधन, सुशासन, पारदर्शिता जस्ता विषयमा गरिएको वाचा विपरीत सरकार भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूलाई संरक्षण दिनमै व्यस्त रहेको आरोप लगाइन्।
“वाचा संविधान संशोधनको, उपलब्धि सरकारी जग्गा बेचबिखन”
‘एक वर्ष पूरा भयो यो सरकार बनेको, तर वाचाहरु केही पनि पूरा भएका छैनन्। त्यसैले यो सरकारको औचित्य समाप्त भइसकेको छ,’ उनले भनिन्, ‘वाचा संविधान संशोधनको अनि उपलब्धि मान्छे र सरकारी जग्गा बेचबिखनको। वाचा सुशासनको, अनि परिणाम जनताको लागि लड्नेहरूलाई जेल र दमन।’
उनले भ्रष्टाचारमा संलग्नहरूलाई खुलेआम सम्मान गर्ने प्रवृत्तिले नै शासनप्रणालीमाथि प्रश्न उठिरहेको बताइन्।
“भिजिट भिसा प्रकरणमा सरकार मौन”
कार्कीले भिजिट भिसा प्रकरणलाई लिएर आफूहरू दुई महिनादेखि आन्दोलनरत रहे पनि सरकारले कुनै सुनुवाइ नगरेको गुनासो गरिन्। उल्टै छानबिन समिति बनाउँदा पनि सत्ता पक्षकै सांसदको संयोजकत्वमा गठन गरिएको भन्दै उनले निष्पक्षतामै प्रश्न उठाइन्।
“सदन सरकारको कठपुतली बनेको छ”
सदनमा निरन्तर प्रतिपक्षी दलहरूको विरोध हुँदाहुँदै पनि संसद् निर्वाध रूपमा सञ्चालन भइरहेकोप्रति आपत्ति जनाउँदै नेतृ कार्कीले संसद्को निष्पक्षता माथि प्रश्न उठाइन्।
‘यो संसद् जनताको आवाज हो कि सरकारको कठपुतली?’ भन्दै उनले भनिन्, ‘इतिहासले यो सदनलाई सरकारको कठपुतली भनेर, सुशासनलाई निमिट्यान्न पार्न खोज्यो भनेर नलेखोस्।’







प्रतिक्रिया