१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमा फेरि आयो फौजी किरा



फाइल तस्विर

३१ जेठ ०७८,बैतडी । मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले लगाएको मकैमा यो प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन् । गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएको थियो ।
फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया गाउँपालिका ५ का किसान अजवबहादुर चन्दले बताए । उनले भने,“एकपटक उम्रेको मकै किराले सखाप पा¥यो, अहिले दोस्रोपटक छरेका छाँैं, यहाँका सबैजसो किसानले त्यस्तै गरेका छन् ।” दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसानले खेतमा लगाएको मकैमा पनि यस्तै प्रकोप देखिएको छ । स्थानीय किसान अम्बादत्त बडुका अनुसार किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ ।
खेतमा लगाएको मकैमा फौजी किराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहाँका किसान समस्यामा परेका छन् । मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका पञ्चेश्वर गाउँपालिका २ का देवबहादुर चन्दले बताए । मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ ।
जिल्लाका विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएको ज्ञान केन्द्रका प्रमुख दिलबहादुर सिंहले जानकारी दिए । उनले भने,“फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ, फौजी किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गर्नुपर्छ ।” बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।