२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खोकनामा रुद्रायणी बाह्र बर्षे मेलाको पुर्वसन्ध्यामा आठ जना देवगणलाई सम्मान



 

२१ जेठ । आज ललितपुर महानगरपालिका २१ खोकनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणलाई सम्मान गरिएको छ ।
लामो समयदेखि देवगणको अभावमा १२ बर्षे जात्रा सम्पन्न हुने नहुने अन्यौल रहेको अवस्थामा स्थानीय अगुवाहरुको पहलमा खोकनाको ऐतिहासिक जात्रा पर्वलाई जीवन्त बनाउन आठ जना स्थानीयहरुलाई देवगणका रुपमा प्रवेश गराइएको हो ।
पछिल्लो समय व्यस्त र आधुनिक जीवनशैली र वेफुर्सदका कारण धर्मसंस्कृतीको जर्गेना गर्न युवा पंक्तीको अभाव हुने अवस्था आएको छ ।

रुद्रायणी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष तथा देवगण वेखनर महर्जनले गाईजात्राको भोलिपल्टदेखि एक महिनासम्म रुद्रायणीदेवीलाई गुफा राखिने र गुफाबाट निकालेसँगै मेला सुरु हुने बताएका छन् । देवगण महर्जनका अनुसार खोकनाबाट सुरु भएको जात्रा बुङमती, पाटन, हनुमानढोकामा देखाइन्छ, त्यसपछि रुद्रायणी मन्दिर परिसरमै देखाएपछि सम्पन्न हुन्छ ।

काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित खोकनाका ४६ जना देवगणमध्ये आठ नयाँ देवगणलाई आज सम्मान गरिएको हो । योसँगै ४३ जना देवगण पुगेको वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए । अध्यक्ष महर्जनका अनुसार अझै तीन देवगणको व्यवस्थापन हुन बाँकी छ ।

सम्मानमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्रीनारायणकाजी श्रेष्ठले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल गर्न नहुने बताएका छन् ।

“पहिचान र संस्कृतिको रक्षा गर्नुको सट्टा यान्त्रिक नक्कल गर्दा कति पीडा हुन्छ भन्ने कुरा मैले भोगेको छु । आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन । आधुनिक संस्कृतिको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढ्यो, यसले हामीलाई विस्तारै आफ्नो भाषा, संस्कृति बिर्साएर अङ्ग्रेजीमा नक्कल गर्नेतिर धकेल्यो । हामी मातृभाषा भन्दा अङ्ग्रेजीमा गर्व गर्न थाल्यौँ । यसको परिणाम हामीले आफ्नो पहिचान र संस्कृति भुल्दै गयौँ”, उनले भने ।

मन्त्री श्रेष्ठका अनुसार हाम्रो पहिचान र संस्कृति बनाउने काम हामीले नगरे कसैले गर्दैन । “तीनै तहको सरकार, स्थानीयहरु र गुठीहरु मिलेर यसको रक्षा र जगेर्ना गर्नुपर्छ”, उनले भने, “खोकनावासी नेवार समुदायले जातीय पहिचान र संस्कृति जगेर्ना गर्न गर्नुभएको योगदानको सम्मान गर्न चाहन्छु ।”

मन्त्री श्रेष्ठले हरेक जातिको आफ्नै पहिचान र संस्कृति हुने उल्लेख गर्दै यसको रक्षा गर्न सके गर्व गर्न सकिने र अरुको उत्पीडन नहुने बताए । उनले पहिचानको रक्षा गर्न नसक्दा आर्थिक मात्रै नभई विभिन्न सांस्कृतिक र पहिचानका दृष्टिकोणबाट पनि पीडित हुनुपर्ने तर्क गरे ।

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले खोकनालाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर समुन्नत र समृद्धिको खोकना, राष्ट्रको समुन्नत र समृद्धिको एउटा अङ्गको रूपमा अगाडि बढाउन यो १२ वर्षे मेला सफल होस् भन्ने कामना गरिन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कला संस्कृति यहाँको पहिचान तथा इज्जत भएको बताउँदै यसलाई बचाउन गरेको पहलप्रति खोकनावासीलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : ०५ बजे