१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विद्युतीय बस खरीद गर्न अझै सरकार अन्याेलमा


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

 

२७ कार्तिक ०७६, काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडलाई सरकारले विद्युतीय बस खरीदका लागि तीन अर्ब उपलब्ध गराएको चार महिना बिति सक्दा पनि खरीद प्रक्रिया अघि बढेको छैन । सरकारले सो रकम बराबरको सहकारीको सेयर खरीद गरेर बस खरीद गर्न साझा यातायातसँग सम्झौता गरेको थियो ।

सरकारले दिएको ‘स्पेसिफिकेशन’ र साझा यातायातले बस खरीदका लागि गरेको तयारीमा फरक देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैँ पहिले खरीदप्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो । गत आवको अन्त्यमा छुट्याइएको  रकम फिर्ता लिने वा साझा यातायातलाई नै ‘स्पेसिफिकेशन’ सच्याउन दिने भन्ने टुङ्गो  लागेकाे छैन् ।

मन्त्रालयले खरीदप्रक्रिया रोक्न निर्देशन दिएपछि साझा यातायातसँग एक पटक बैठक बसेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी गराउनु भयाे । त्यस बैठकमा साझा यातायातले खरीद गर्ने योजना बनाएको बसका खाका प्रस्तुत गरेको थियो । संस्थाका अध्यक्ष कनकमणि दीक्षित देश बाहिर भएकाले अर्को बैठक बस्न नसकिएको उहाँको भनाइ छ ।

सरकारले साझालाई रकम दिँदा सँगै दिएको ‘स्पेसिफिकेशन’ बाट बाहिर जाँदा भविष्यमा विभिन्न समस्या आउन सक्ने प्रवक्ता ज्ञवालीको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले गरेको काममा भोलि कुनै पनि निकायबाट प्रश्न आउन दिनुहुँदैन भनी हामीले भनेका छौँ ।”

सरकारले बस खरीदका लागि दिएको रकम साझा यातायातले राष्ट्रिय सहकारी बैङ्क लिमिटेडमा बचत गरेको छ । सो अवधिमा बचत भएको रकमको पनि खोजी हुने उहाँको भनाइ छ । आगामी बैठकमा सो रकम के गर्ने भनी टुङ्गो लाग्ने बताइएको छ । सरकारले साझा यातायातलाई बस खरीदका लागि सरकारबाट सरकार ९जि टु जि० वा सार्वजनिक खरीदप्रक्रिया जुनसुकैबाट गर्न सक्ने भनी खुला गरिएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो अवधिमा साझा यातायातले कस्तो प्रक्रिया शुरु ग¥यो भन्नेबारे हामीलाई जानकारी गराएको छैन ।”

मन्त्रालयले चाहे जस्तो नतिजा आइनसकेकाले गत महिना खरीदप्रक्रियाबारे संस्थासँग मन्त्रालयले जानकारी मागेको थियो र प्रक्रिया अघि नबढाउन पनि निर्देशन दियो । खरीदप्रक्रियामा ढिलाइ हुँदा अब कसरी अघि बढ्ने भन्ने बैठकले टुङ्ग्याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मन्त्रीज्यूले पनि बस खरीद सकेसम्म चाँडो होस् भन्ने चाहनुभएको छ ।”

साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले मन्त्रालयले दिएको ‘स्पेसिफिकेशन’ मा सामान्य हेरफेर मात्रै गरिएको बताउनुभयो । मन्त्रालयले दिएको डेढ पाना ‘स्पेसिफिकेशन’ प्रारम्भिक खाका मात्रै भएकाले त्यसलाई आवश्यक मात्रामा परिमार्जन गरिएको उहाँको भनाइ छ । खरीदका लागि बनेको समितिमा मन्त्रालयका प्रतिनिधि पनि समेट्ने भनिए पनि मन्त्रालयले प्रतिनिधि पठाउनै एक महिना लागेको उहाँको भनाइ छ । त्यसपछिको एक महिना काम गरेपछि मन्त्रालयले काम गर्न रोक लगाएको थियो । उहाँले भन्नुभयो, “हामीले काम गर्न पाएको जम्मा एक महिना हो तर त्यसैमा पनि उहाँहरु ढिलो भएको भन्दै हुनुहुन्छ ।”

सरकारको लगानी भएको संस्थाले नाफा मात्रै हेर्नेभन्दा पनि जनतालाई सुविधा दिने कुरामा ध्यान दिने भन्दै सरकारले साझालाई सो जिम्मेवारी दिएको थियो । सरकारले सुधारकै लागि देशभरका सडकलाई यातायात व्यवसायी सङ्घ र सङ्घसंस्थाका कब्जाबाट मुक्त गरेको भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बताउँदै आउनुभएको छ ।

एकाधिकारको अन्त्यपछि नै मन्त्रालयलाई वातावरणमैत्री सवारी साधन सञ्चालनका लागि बाटो खुलेको भन्दै सूचना प्रविधियुक्त, सजिला र सुविधासम्पन्न विद्युतीय बस भित्र्याउने सरकारले योजना बनाएको थियो ।

काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझा यातायातले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरीद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो । विद्युतीय बस खरीदकै लागि प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड सेयर खरीद गरेका थिए । ललितपुर महानगरपालिका र साझा यातायात आफैँले दुई करोड ५० लाख लगानी गरेर विद्युतीय बस खरीद गर्ने बताइएको थियो ।

साझा यातायातले बस खरीदप्रक्रिया अघि नबढाउँदा निजी क्षेत्रले भने यसको विस्तारमा लागेको छ । सुन्दर यातायात प्रालिले चक्रपथमा सञ्चालन गरेका चार बस नै नेपालका सडकमा गुड्ने पहिलो विद्युतीय बस भएका छन् । चालु आवमै थप २५ बस थप्ने सो प्रालिले योजना बनाएको छ ।
साभार : रासस

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : ५० बजे