१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सागकाे सरक्षाकाे लागि १८ हजार सुरक्षाकर्मी ब्यवस्था


१० मंसिर २०७६, मंगलबार  

0
Shares

 

  नारायण ढुङ्गाना
१० मंसिर ०७६,काठमाडौं । दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा ब्यवस्था गरिएको छ ।

साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले चुस्त सुरक्षा व्यवस्था मिलाएको छ । समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकूद परिषद् (राखेप) का प्रतिनिधि सरस्वती केसी र खगेन्द्र पौडेल हुनुहुन्छ । मुलुकको विभिन्न जिल्लामा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म साग आयोजना हुँदैछ ।

त्यस्तैगरी ‘शान्ति, मित्रता र समृद्धि’को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।

यसपटकको सागको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानका १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुँदैछन । नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी परिचालन हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
सुरक्षाका लागि जिल्लाबाट समेत प्रहरी झिकाइएको छ ।

पोखरेलले भन्नुभयो, “नेपालमा सुरक्षाको चुनौती खासै छैन, सानातिना आउनसक्ने चुनौतीको विश्लेषण गरेर खेल हुने स्थानसहित विमानस्थलदेखि आवासस्थलसम्मको सुरक्षा प्रबन्ध गरिएको छ, खेलस्थलमा दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी राखेर सोहीअनुसारको सुरक्षा मिलाइनेछ ।”

साग सुरक्षामा सशस्त्र प्रहरीको तर्फबाट पाँच हजार बढी खटाइने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो । तीन हजार बढी नेपाली सेना खटिनेछन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रतियोगिता हुन लागेकाले शान्ति सुरक्षालाई महत्वका साथ हेरिएको छ ।

यसपटक काठमाडौँ, ललितपुर, कास्की र धनुषा जिल्लाका ३० खेलस्थलमा २६ खेल सञ्चालन हुनेछ । काठमाडौँको १२, ललितपुरको ९ र पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुने छ । सबै क्षेत्रमा आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसपटकको खेलमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको जनाइएको छ । अन्तिम समयमा प्याराग्लाइडिङ खेललाई हटाएको छ । खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाली सहभागी हुने जनाइएको छ । सागका ९ खेल पोखरा, १ खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउने छ ।

खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डलसहित दुई हजार २०९ जना सहभागी हुने छन् । दुई हजार स्वयंसेवक परिचालन हुने जनाइएको छ । सन् १९८४ मा पहिलोपटक नेपालबाट सागको शुरुआत भएको हो । सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि यसपटक नवौँ संस्करण नेपालमा आयोजना भएको हो । सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । खेलको कृष्णसार आकृतिमा मस्कट तयार गरिएको हो । हरेक दुई वर्षमा आयोजना हुने प्रतियोगिता विसं २०७२ को विनाशकारी भूकम्पका कारण हुन सकेको थिएन । प्रतियोगितालाई ध्यानमा राखेर अहिले पूर्वाधार निर्माण, खेलस्थलको सौन्दर्यकरणको काम जारी छ ।

त्यस्तै धेरै खेलाडीको सहभागिताले उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण रहने विश्लेषण गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएर यातायात व्यवस्थापन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उद्घाटन र समापनको दिनमा हुने भीड व्यवस्थापनका लागि छिट्टै बाटो निर्धारण गरेर सर्वसाधारणलाई अपिल गरिने उहाँले बताउनुभयो । उक्त समयमा मुख्य सडकको ट्राफिक कम गर्न भित्री सडक तथा कोरिडोर खुला गर्न लागिएको प्रहरीले जनाएको छ

रासस

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ३२ बजे