२० मंसिर ०७६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा यही मङ्सिर १६ गते सार्वजनिक गरिएको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयवासीको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाउदै यो सो निर्णयले आयोजनाको अन्योलतर्फ धकेलिएको भन्दै कांग्रेसले चिन्तासमेत व्यक्त गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सो क्षेत्रको आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यावहारिक र वैज्ञानिक ढङ्गले नगर्दा स्थानीयवासीमा त्यसले आक्रोश उत्पन्न गरेको उल्लेख गर्नुभएको छ । सो भेगका बासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण गरिएको भए स्थानीयको असन्तुष्टि एवं आक्रोश नजन्मने विज्ञप्तिमा जनाइएको छ । “मनोगत ढङ्गले निर्धा्रित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पु¥याएको छ नै त्यसका विरुद्ध रोष प्रदर्शन गर्न स्थानीयवासी बाध्य भएका छन्”, विज्ञप्तिमा उल्लेख छ । कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा स्वर्णीम वाग्लेको संयोजकत्वको कार्यदलको अध्ययनको निष्कर्षका आधारमा एक हजार २०० मेगावाटको सो परियोजना आफँैले निर्माण गर्ने निर्णय गरेको थियो । “बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि डिजेल र पेट्रोल खरिदमा प्रतिलिटर रु पाँचका दरले उपभोक्तामार्फत रकम सङ्कलन गर्दा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको छ तर शान्ति, संविधान र निर्वाचनपछि सो परियोजना निर्माणको विषयले तीव्र गति लिने अपेक्षाविपरीत वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एकपछि अर्को घटनाका साथ अन्योलमा पर्दै गएको छ । न्यून मुआब्जा प्रकरण त्यसको पछिल्लो उदाहरण बन्न पुगेको छ”, प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । विकास परियोजना सञ्चालन गर्न स्थानीयवासीलाई विश्वासमा लिनुपर्नेमा यही मङ्सिर १६ मा सार्वजनिक जग्गाको न्यून मुआब्जाले नागरिकलाई विश्वासमा लिनेतर्फ होइन परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउनेतर्फ लक्षित देखिएको कांग्रेसको आरोप छ । सो मुआब्जा निर्धारण तत्काल फिर्ता लिएर स्थानीयवासीसँग पर्याप्त छलफल गरेर न्यायोचित मुआब्जा निर्धारण गरी समाधानमा पुग्न सबै जिम्मेवार पक्षलाई कांग्रेसले आग्रह गरेको छ । –––
मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग
बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिको नेतृत्वमा पीडितहरुले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोक्का जग्गाको क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्नेलगायत मागसहित आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् । धर्नामा सहभागीहरुले ‘मुआब्जा पुनःमूल्याङ्कन गर’, ‘आयोजना शीघ्र कार्यान्वयन गर’, ‘सुकुम्वासी बनाउने मुआब्जा निर्धारण मूल्य खारेज गर’, ‘घरजग्गाको एकमुष्ट रकम निर्धारण गर’, ‘पुनर्वासको ग्यारेण्टी होस्’ र ‘आरुघाट नमूना बजारको व्यवस्था गर’ लेखिएका प्ले कार्ड बोेकेका थिए ।
भत्ताकै भरमा राउटे
– शेरबहादुर सिंह
डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहनुभएको छ ।
कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने राउटे समु्दायकी किणीदेवी बस्तीमा आएयता गाउँलेसँग सुमधुर सम्बन्ध रहेकोप्रति हर्षित हुनुहुन्छ । “जङ्गलबाट आएको भनेर हेला गर्छन् कि भन्ने पीर थियो”, उहाँले भन्नुभयो,“अब त खेतीपाती र मजदूरी गरेरै दिन बितिरहेको छ ।”
उहाँले समाजमा बसोवास थालेसँगै विभिन्न आयमूलक काम र मजदूरीमा लाग्न स्थानीयवासीले प्रेरित गर्ने गरेको बताउनुभयो ।“दुई छोरा भारतको लोहाघाटमा मजदूरी गर्छन्”, उहाँले भन्नुभयो, “श्रीमान् गाउँघरमै ज्याला मजदूरी गर्नुहुन्छ ।”
कञ्चनपुरमा राउटे समुदायको तीन परिवारको मात्रै बसोवास रहेको छ । यहाँ बसोवास गर्दै आएका राउटे समुदायका अधिकांश पुरुष अहिले जीवन निर्वाह गर्न मजदूरी गरिरहेका छन् । “मजदूरीको पैसाले सामान्य खर्च चलेपनि हाम्रो घरको खर्च मुख्य रुपमा सरकारबाट पाइने राउटे भत्ताबाट टरेको छ”, किणीदेवीले रासससँग भन्नुभयो,“नियमित रुपमा भत्ता पाइरहेकै हुनाले घरको दाल, चामल चलेको छ ।”
पछिल्लो समय बस्ती छेउछाउका वन सामुदायिक वनमा रुपान्तरण भएपछि काठको भाँडाकुडा बनाउन पनि समस्या हुने गरेको राउटे समुदायको भनाइ थियो । “हाम्रो घरमा चार जनाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता पाउछौं”, उहाँले भन्नुभयो,“भत्ता नपाउने भए फेरि जङ्गल पस्नुपर्ने बाध्यता आउने अवस्था थियो ।”
सामाजिक सुरक्षा भत्ताले घरखर्च चलाइरहेका यहाँका राउटे समुदायका लागि केही समयअघि सांसद विकास कोषको रकमबाट प्रतिनिधीसभा सदस्य डा दिपकप्रकाश भट्टले भीमदत्तनगरपालिका–९ बटेनामा करबीर राउटेलाई दुई कोठे पक्की घर समेत निर्माण गरिदिनुभएको वडा कार्यालयले जनाएको छ ।
स्थानीय कमला राउटेले बस्तीमा घर बनाउन मात्रै जग्गा रहेको दुखेसो पोख्दै खानेपानीको निकै समस्या हुने गरेको बताउनुभयो । “पानी नहुँदा खेतमा पनि अन्न फलाउन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “राउटेलाई आयमूलक कामका लागि सीपमूलक तालीम पनि दिनुप¥यो ।” उहाँले राउटे समुदायका बालबालिका अझै विद्यालय जान नसकिरहेको बताउनुभयो ।
“विद्यालय जानुपर्छ भन्ने चेतना नै अझै फैलाउन सकिएको छैन”, उहाँले भन्नुभयो,“केही वर्ष विद्यालय गएका बालबालिका अहिले गाउँमा त्यसै डुल्दैछन ।” दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हँुदै कञ्चनपुरको खल्लामसेटी बसाइँ सरेका ६७ वर्षीय जयलाल राउटेले केही समयअघि भत्ता नियमित नआउँदा समस्या भएको बताउनुभयो ।
“भत्ता केही महिना ढिलो आउँदा घरमा छाक टार्नसमेत समस्या भयो”, उहाँले भन्नुभयो,“पैसा नहुँदा पसलमा उधारोमा सामान माग्न पनि गाह्रो लाग्छ ।” विसं २०५८ मा बसाइँ सरी यहाँ आएका बड्सिंह राउटेले पनि परिवारको खर्च भत्ताले चलेको बताउनुभयो । “पाएभने गाउँघरमै ज्यालामजदूरी पनि गर्छु”, उहाँले भन्नुभयो, “सरकारले लोपोन्मुख जातीलाई अझै सुविधा दिनुपर्छ ।”
प्रतिक्रिया