९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वुहानमा रहेका नेपालीको स्वास्थ्यवस्थाबारे सरकार संवेदनशील ः प्रवक्ता बाँस्कोटा


२३ माघ २०७६, बिहिबार  

0
Shares


२३ माघ ०७६, काठमाडौं । छिमेकी चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको नोभेल कोरोना भाइरसको बढ्दो रूपप्रति नेपाल सरकार संवेदनशील रहेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको स्वास्थ्यवस्थाबारे सरकार अत्यन्त संवेदनशील रहेको बताउनुभयो ।
प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार स्वयं अत्यन्त सजग रहेको उल्लेख गर्दै उहाँले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको बताउनुभयो । “नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरुले भनेका छन्”, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएका प्रवक्ता बाँस्कोटाले भन्नुभयो ।
चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार गर्ने प्रक्रिया अगाडि बढाएको प्रष्ट पार्नुभयो । “हामीले उद्धारका लागि तयारी तीव्र पारेका छौँ, प्रभावित क्षेत्रबाट ल्याइएका नागरिकलाई १४ दिन ‘क्वारेन्टाइन’मा राख्नुपर्ने हुन्छ, उनीहरुलाई राख्ने स्थानको व्यवस्था गर्दैछौँ”, उहाँले भन्नुभयो, “जहाजको कुनै समस्या छैन, विमानस्थलदेखि ‘क्वारेन्टाइन’ सम्म जाने ठाउँको व्यवस्था गर्नुपर्नेछ । चिकित्सक, अलग्गै वार्ड, स्वास्थ्य परीक्षणलगायतको प्रबन्ध गर्नुपर्ने छ, त्यो व्यवस्था हुँदैछ ।”
वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै उहाँले यसमा नआत्तिन अभिभावकलाई आग्रह गर्नुभयो । कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । पछिल्लो समय कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिको स्वास्थ्यमा सुधार हुने क्रम बढ्दै गएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको उहाँले जानकारी दिनुभयो ।
तीन सय श्ययाको अस्पताल निर्माण
यसैबीच सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ । यही माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० श्ययाको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन ।
सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ । टेकु अस्पताल जम्मा ६० श्ययाको छ ।
विधि प्रक्रिया पूरा गरे सिजीले अनुमति पाउँछ

विधि प्रक्रिया पूरा गरे सिजी टेलिकम्युनिकेशन कम्पनीले मुलुकभर दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति पाउने सरकारले स्पष्ट पारेको छ । सञ्चार तथ सूचना प्रविधिमन्त्री बाँस्कोटाले सो कम्पनीले ग्रामीण भेकमा दूरसञ्चार सेवा प्रवाह गर्न अनुमति लिएको उल्लेख गर्दै मुलुकभर सेवा विस्तार गर्न विधि प्रक्रिया पु¥याएर आवेदन दिए अनुमति दिइने प्रष्ट पार्नुभयो ।
“मुलुकभर सेवा प्रवाह गर्ने र ग्रामीण भेगमा सेवा दिने इजाजत लिने अलगअलग प्रक्रिया छ”, उहाँले भन्नुभयो, “सिजीले ग्रामीण क्षेत्रमा सेवा दिन अनुमति लिएको छ, ‘युनिफाइड’ अनुमति नलिई सेवा विस्तार गर्न मिल्दैन ।”
मुलुकभर सेवा प्रवाह गर्न रु २० अर्ब इजाजत शुल्क बुझाउनुपर्ने उल्लेख गर्दै उहाँले तोकिएको शुल्क तिरेर विधि प्रक्रिया पूरा गरी आए सिजीलाई अनुमति दिइने बताउनुभयो । “सेवा विस्तार गर्न अनुमति नलिएको विषयमा बहस गर्नुको अर्थ छैन”, उहाँले भन्नुभयो, “तोकिएको शुल्क बुझाएर आए स्वीकृति दिइन्छ ।”
ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन गर्ने कम्पनीले रु २५ लाख इजाजत शुल्क तिर्ने विद्यमान व्यवस्था छ । सिजीले पूर्वाञ्चलका विभिन्न तत्कालीन ५१४ गाविसमा सेवा सञ्चालन गर्न अनुमति लिएको छ । सिजीलाई ‘युनिफाइड’ अनुमति दिने सम्बन्धमा सरकार पूर्वाग्रही नरहेको स्पष्ट पार्दै उहाँले आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरी आएमा अनुमति पाउने बताउनुभयो ।
‘प्रमाणित भए कारवाही भोग्नुपर्छ’
मन्त्री बाँस्कोटाले सरकारी जग्गा हिनामिना प्रकरणमा दोषी देखिए जो कोहीमाथि पनि कारवाही हुने बताउनुभयो । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उहाँले अदालतको फैसलाअनुसार नै कारवाही हुने बताउनुभयो । “लालफित्ताधारी र श्वेतफित्ताधारीबीच विभेद हुँदैन, पूर्वाग्रहको कुरै छैन, जे प्रमाणित हुन्छ, त्यो व्यहोर्नुपर्छ”, प्रवक्ता बाँस्कोटाले भन्नुभयो ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।