२९ माघ ०७६,चीन । चीनबाट शुरु भएर विश्वव्यापी भएको कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय १३ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड—१९ नाम दिएको यस भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
भाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिन थालेपछि आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका छ भने आम नागरिक त्रसित अवस्थामा रहेका छन् ।
कोरोना भाइरसका कारण चीनमा मात्रै थप ९७ जनाको मृत्यु भएकाले मृत्यु हुनेको सङ्ख्या बढेर ११ सय १३ पुगेको हो । सङ्क्रमित हुनेको सङ्ख्या भने चीनमा मात्रै ४४ हजार ६ सय पुगेको छ ।
“मलाई लाग्छ फेब्रुअरीको मध्यदेखि अन्त्यसम्ममा यसको जोखिम उच्चस्तरमा पुगेको हुन्छ,” चीनको राष्ट्रिय स्वास्थ्य आयोगका चर्चित वैज्ञानिक झोङ नान्शानले भन्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जेनेभामा भाइरसका बारेमा विषेश सम्मेलनको आयोजना गरेको छ भने सम्मेलनमा बोल्ने मुख्य वक्ता टेड्रोस अधनोम घेब्रेयेसुसले भाइरसविरुद्ध लड्ने मौकाको रूपमा लिनुपर्ने बताउनु भएको छ ।
“हामीले अहिले नै त्यसका लागि लगानी ग¥यौँ भने हामीले यो नियन्त्रण गर्ने मौका पाउने छौँ,” उहाँले भन्नुभयो ।
त्यही सम्मेलनमा यो भाइरसको नाम कोभिड—१९ राखिएको घोषणा गरिएको थियो । को भन्नले कोरोना, भीआई भन्नाले भाइरस र डी भन्नाले डिजिज (रोग) भन्ने बुझाउन र सन् २०१९ मा देखिन शुरु भएकोले कोभिडको पछाडी १९ देखिएको उनीहरूले बताएका छन् ।
यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्मबरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।
यो कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका हुन् ।
त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गर्नुभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
ग्रीक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गर्नुभएको छ ।
टर्कीका राष्ट्रपति रिसेप तयप एर्डाेगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट यो भाइरस निवारणको काम चीनले छिट्टै गर्ने धारणा राख्नुभएको छ ।
यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीले पनि चीनलाई सान्त्वता दिँदै यस सङ्क्रमणको नियन्त्रण एवं निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने आश्वासन दिनुभएको छ ।
प्रतिक्रिया