१ असार २०८२, आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दैनिक बढ्दैछ कोरोना भाइरसको पिसिआर परीक्षण


७ असार २०७७, आइतबार  

0
Shares


७ असार ०७७, काठमाडौं । सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या बिस्तारै बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न २४ वटा प्रयोगशालामा सात हजार ४१६ वटा नमूना परीक्षण गरिएको कोभिड–१९ को जानकारी दिन आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो अहिलेसम्मकै उच्च हो ।
शुक्रबार जम्मा छ हजार २३१ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । सरकारले यही असार १५ गतेदेखि दैनिक १० हजार नमूना पिसिआर विधिबाट परीक्षण गर्ने तयारी गरेको छ ।
हालसम्म पिसिआर विधिबाट एक लाख ६९ हजार १६५ नमूनाको परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४२६ सहित हालसम्म दुई लाख ५२ हजार ३०० जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
मुलुकभरका क्वारेन्टिनमा एक लाख दुई हजार २४५ जना रहेका छन् । आइसोलेशनमा रहनेको सङ्ख्या सात हजार पाँच छ । पछिल्लो २४ घण्टामा १८ महिला र १५८ पुरुष गरी कूल १७६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १४१ महिला र एक हजार ४३७ पुरुष गरी कूल एक हजार ५७८ पुगेको छ । कोरोनाबाट हालसम्म २२ जनाको मृत्यु भएको छ ।
–––

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।