२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना सङ्क्रमितमा देखियो लक्षण


१३ श्रावण २०७७, मंगलबार  

0
Shares


१३ साउन ०७७, सप्तरी । सप्तरीमा कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरु हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।
पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताएका छन् । कतिपय सङ्क्रमितमा रुखाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको उनले जानकारी दिएका छन् ।
कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिन आज सप्तरी आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सप्तरीको अवस्थाका बारेमा जानकारी दिँदै डा झाले भन, “सङ्क्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति व्यवस्थापन झन जटिल भएको छ ।” पहिला सम्पर्कमा जानु नपर्ने अवस्था रहेकोमा पछिल्लो समय स्वास्थ्यकर्मीले सङ्क्रमितहरुको परीक्षणलगायतका काम गरेको उनले बताए ।
गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गत जेठ २४ गतेबाट पिसीआर प्रयोगशाला सञ्चालनमा आएपछि तीन हजार ९ सय ६० जनाको स्बाव परीक्षण गरिएको र तीमध्ये २ सय ९१ पुरुष र ३२ महिला गरी ३ सय २३ जनाको रिपोर्ट पोजेटिभ पुष्टि भएको डा झाको भनाइ छ । प्रयोगशालामा हाल दैनिक १ सय ५० देखि २ सय जनासम्मको पिसीआर परीक्षण भइरहेको उनले जानकारी दिए ।
सप्तरीमा देखिएका कूल ४ सय ४७ सङ्क्रमितमध्ये गजेन्द्रनारायण सिंह अस्पतालअन्तर्गत सञ्चालनमा रहेको आइसोलेशनमा ४ सय २१ जनाले सेवा लिएका छन् । उपचार गरेका ३ सय २ जना निको भई घर फर्किएको र १ सय १९ जना उपचाररत रहेको डा झाले जानकारी दिए । राजविराजस्थित १ सय ७८ श्ययाको आइसोलेशन केन्द्रमा एकैपटक १ सय ७२ जनासम्म भर्ना गरेर उपचार गर्न आफूहरु सफल भएको उनले बताए ।

अहिले रहेको जनशक्तिका भरमा अस्पतालको सेवा र १७८ श्ययाको आइसोलेशन केन्द्र सञ्चालन गर्न समस्या भएकाले थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता उनले औँल्याए । आठ जना डाक्टर र १२ जना नर्स गरी २० जना स्थायी जनशक्ति रहेको अस्पतालका करार कर्मचारीका भरमा काम गर्नुपरेको बताउँदै डा झाले भने “महिनांैदेखि पैसा नआएर तलब दिन नसकिएको अवस्थामा करारका कर्मचारीलाई अस्पताल र आइसोलेशनमा जोखिमयुक्त काममा खटाउनु परेको छ ।”
अस्पतालकै लागि जनशक्ति अभाव रहेका बेला १ सय ७८ श्ययाको आइसोलेशन पनि ती जनशक्तिले सम्हाल्नु पर्दा अझै समस्या भएको उनले बताएका छन् । चार दिनअघि आकस्मिक कक्षका एक बिरामीमा समेत कोरोना पुष्टि देखिएपछि चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिन गर्नु पर्दा सेवा झनै प्रभावित भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले पनि सधैँभरी भिटीएमको अभाव हुँदा पिसीआर परीक्षण तीव्र गतिमा अघि बढ्न नसकेको बताए । पछिल्लो पटक प्रदेश सरकारले उपलब्ध गराएको एक हजार भिटीएम पनि सकिने अवस्थामा रहेकाले तत्कालै पाँच हजार भिटीएमको व्यवस्था गर्न माग गर्दै यादवले मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहको ध्यानाकर्षण गराएका छन् । “कोरोनाको सङ्क्रमण जुन गतिले समुदायमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न परीक्षण बढाउनुको विकल्प छैन” उनले भने “तर, भिटीएमलगायतका सुरक्षा सामग्रीको अभाव छ, तत्कालै व्यवस्था मिलाई दिन आग्रह गर्छु ।”

यसैगरी, पिसीआर परीक्षणलगायतका अन्य व्यवस्थापनका लागि जिल्लाका विभिन्न स्थानमा पुग्न सवारी साधन तथा आमा समूह र स्वयम् सेविकाहरुलाई परिचालन गर्न आवश्यक पर्ने बजेटको पनि व्यवस्था गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।