२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोखराको आकाशमा उड्न थाले पर्यटक


२० आश्विन २०७७, मंगलबार  

0
Shares


उडन थाले पर्यटक पोखराको आकाशमा
लामो समयको बन्दाबन्दीपछि पोखरामा सञ्चालित साहसी खेल प्याराग्लाइडिङमा रमाउँदै पोखराको आकाशमा १७बmउस वर्षीय रोजमेरी ढुंगाना र प्यारापाइलट दूर्योधन खडका । तस्बिरः जमुनावर्षा शर्मा/रासस

२० असोज ०७७,पोखरा । लामो समयको लकडाउनका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् ।
साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन् ।
केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन गरेका नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले जीवनको पहिलो प्याराग्लाडिङ उडानको अनुभव निकै स्मरणीय रहेको बताए । “मलाई गजब आनन्द लाग्यो, अन्य उडानबाट आकाशमा उड्नु र प्याराग्लाडिङबाट उड्नुमा धेरै फरक रहेछ, नजीकबाट प्रकृतिको स्वच्छ अवलोकनले मलाई निकै ‘फ्रेस’ बनायो ।” उनले सन् २०१२ का सिएनएन हिरो लाक्पा छिरीसँग उड्न पाउँदा पनि छुट्टै आनन्द लागेको अनुभव सुनाए । “लामो समयको बन्दाबन्दी र सधँै एउटै दिनचर्याबाट केही टाढा लाक्पा जीसँगको आकाशको सफर मेरो लागि सदा स्मरणीय रहनेछ”, गौतमले भने ।

पोखराको प्रतिभा उच्च माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीया रोजमेरी ढुङ्गानाले पनि जीवनमा पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङ उडानले निकै रोमाञ्चक बनाएको बताए । “कोरोनाका कारण घरमै बस्नुपर्दा निकै दिक्क लागेको थियो । लामो समय भयो कहीँ कतै घुम्न जान पाएको थिएन, यहीबीच प्याराग्लाइडिङ खुलेसँगै आकाशमा उड्न पाएँ, शुरुमा त निकै डर लागेको थियो पछि बिस्तारै चरा जस्तै बनेर फेवाताल र वरिपरिको सुन्दर दृश्यको मज्जा लिन थालेँ, जमीनमा झर्न नपरे हुन्थ्योजस्तो लागेको थियो ।” उनले जीवनको पहिलो साहसिक खेलको अनुभव सुनाउँदै अब अन्य साहसिक खेल खेल्न पनि आफूलाई थप ऊर्जा मिलेको बताए ।
पोखराको आकाशमा ११ वर्षदेखि उडान गर्दै आएका प्यारापाइलट दुर्योधन खड्का कोरोनापछि शुरु भएको व्यावसायिक उडानले केही आशा जगाएको बताए । “अघिल्लो वर्ष पोखराका सराङकोटबाट चारपाँच सय उडान हुन्थ्यो, यो मौसम प्यारापाइलटहरुका लागि साँच्चै दशैँ हो तर अहिले मुस्किलले फाट्टफुट्ट पर्यटक देख्दा पनि खुशी हुनुपरेको छ, अहिले संस्थाले सहुलियत प्याकेजमा उडान गरेको जनाउँदै यो अवसरको फाइदा लिन पनि साहसिक खेल पारखीहरुलाई आग्रह गरे ।

पोखरामा लामो समय बन्द रहेको प्याराग्लाइडिङ असोज १५ देखि व्यावसायिक उडान शुरु भएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । “अघिपछि यो मौसममा आकाशभरि प्याराग्लाइडिङ उडानले छपक्कै हुन्थ्यो, हेर्दा पनि निकै आनन्द लाग्थ्यो, तर अहिले आन्तरिक केही पर्यटकमात्र उडेका छन् । लामो समयपछि शुरु भएको व्यावसायिक उडान केही आशा भने जगाएको छ”, भण्डारीले भने ।
पोखरा र आसपासबाट साहसिक खेलमा रुचि राख्नेहरु प्याराग्लाइडिङका लागि पोखरा आउन थालेको उनको भनाइ छ । उनका अनुसार अहिले सहुलियत रुपमा प्याराग्लाइडिङ उडान गरिएको छ । पहिले सात हजार ५ सयमा हुने उडान अहिले चार हजार ५ सयदेखि पाँच हजार सम्ममा पोखराको आकाशमा उड्न पाइनेछ । उनले यसअघि दैनिक करीब पाँच उडान हुने गरेको र बन्दाबन्दीपछि दैनिक एक सयदेखि १ सय ५० उडान हुन थालेको जानकारी दिए । पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन् । ३ सय ५० जना प्यारापाइलट छन् भने करीब एक अर्बको लगानी यस क्षेत्रमा रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।