३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पशुपतिनाथमा आन्दोलन


२२ आश्विन २०७७, बिहिबार  

0
Shares


२२ असोज ०७७, गौशाला ः पशुपति क्षेत्र विकास कोषको पुनःसंरचनाको माग गर्दै पशुपतिका स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
स्थानीयवासीले गठन गरेको पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा छ महिनाअघि कोष सञ्चालक परिषद्बाट पारित भएको गुरुयोजना खारेजी, कोषका पदाधिकारीको राजीनामासमेत माग गरी विरोधका कार्यक्रम अघि बढाएका हुन् ।
आइतबारदेखि धर्ना, ‘ब्ल्याक आउट’ लगायत कार्यक्रम जारी राखेको समितिले मानव साङ्लो प्रदर्शन गरेको हो । कोषमा राजनीतिक मानिस मात्र राखेको र स्थानीय जनप्रतिनिधिको प्रतिनिधित्व नहुँदा पशुपति क्षेत्रको प्राचीन बस्ती हटाउने, मौलिक धर्म, संस्कृति, जात्रा, पर्व समेत नाश गर्न खोजेको जनाउँदै पुनःसंरचनाको माग गर्न आन्दोलनमा उत्रनुपरेको समिति संयोजक आशामान सङ्गतले जानकारी दिएका छन् ।
पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन बाहिर गएर विकासनिर्माणका काम भएको जनाउँदै त्यस्ता काम रोकी विश्वसम्पदा सूचीमा सूचीकृतस्थलको गरिमा कायम राखिनुपर्ने उनीहरुको माग छ ।
समितिका अर्का संयोजक कृष्णमान श्रेष्ठ कोषले १ सय वर्षे गुरुयोजना बनाई पहिलेदेखि रहेको बस्ती हटाएर आधुनिक ठूला भवन बनाउन लागेको आरोप लगाए । यसअघि कोषले २०५६ सालमा बनाएको पहिलो गुरुयोजना नै पूर्ण नभएको उनको भनाइ छ । कोषले २०५९ सालमा सङ्कटकालको मौका छोपी पशुपति क्षेत्रका ३ सय ६० घर हटाएको स्थानीयवासीको गुनासो छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोषलाई गत साउन १८ गते विसं २०५६ देखि २०६६ सम्मको गुरुयोजनाको प्रगति समीक्षा सार्वजनिक गर्न दिएको निर्देशनसमेत पालना नभएको स्थानीयवासीको भनाइ छ । त्यसै दिन मन्त्री योगेशकुमार भट्टराईले मन्त्रालयका दुई सहसचिव र पुरातत्व विभागका महानिर्देशक सदस्य रहने गरी गुरुयोजना अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदललाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।
कार्यदलको समय थपी गुरुयोजना अध्ययन, सरोकार भएका निकायसँग छलफललगायत काम भइरहेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताएका छन् ।
पशुपति खोल्न माग
गत वर्ष चैतदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पशुपतिनाथ मन्दिरमा भक्तजन प्रवेश निषेध गरिएकामा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर खोल्नुपर्ने माग गर्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा करीब एक दर्जन संस्थाले बेलुकी दीप प्रज्वलनसहित विरोध प्रदर्शन गरिरहेका छन् ।
सार्वजनिक यातायात, ठूला बजारलगायत खुल्दा पनि पशुपति नखोलिएको जनाउँदै धार्मिक संस्था एक साताअघिदेखि नै शान्तिपूर्ण रुपमा दीप प्रज्वलनसहित आन्दोलनमा उत्रेको गौरी मासिकका सम्पादक अर्जुन लामिछानेले बताए । सरकारले अनुमति दिनेबित्तिकै मन्दिर खोल्न सकिने गरी सबै तयारी पूरा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।