२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यसवर्ष ‘गोदावरी पुष्प मेला’ नहुने, भारतबाट फूल पनि नल्याइने


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares


२७ कात्तिक ०७७, काठमाडौं । हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ कोरोनाभाइरसका कारण यस वर्ष नहुने भएको छ । विगत तेह्र वर्षदेखि हुँदै आएको पुष्प मेला यसवर्ष कोरोनाका कारण रोकिएको हो । तिहार आउन एक हप्ता बाँकी हँुदा ललितपुरको जावलाखेलस्थित फुटबल मैदानमा पाँच दिनसम्म मेला हुने गरेको थियो । गत वर्ष मेलामा विभिन्न ४ सय प्रजातिका ५२ फूलको प्रदर्शनी कक्ष राखिएको थियो भने रु ७५ लाखको कारोबार भएको थियो ।


मेलामा काठमाडौँ उपत्यकाका फूल व्यवसायीले भाग लिने गरेका फ्लोरीकल्चर एसोसिएसनलेका अध्यक्ष कुमारकसजु श्रेष्ठले बता । कोरोना फैलिरहेकै समयमा सुरक्षा सावधानी अपनाएर बजार खुले पनि पुष्प मेल गर्न नसकिने अध्यक्ष श्रेष्ठको भनाइ छ । हरेक दिन काठमाडौँ उपत्यकामा कोरोनाका बिरामी बढ्दै गएका र मेलामा ठूलो भीडभाड हुने र नियन्त्रण गर्न कठिन हुने हुनाले यस वर्ष स्थगन गरिएको हो ।
बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने पनि अध्यक्ष श्रेष्ठले बताए । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पानदन भएकाले आयातित फूलको आवश्यक नहुने भएको हो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो ।


विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यसवर्षको पात्रो हेरेर व्यावसायिक रुपमा फूल लगाएका हुनाले उत्पादन राम्रो छ ।
विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४ सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।


फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौँ उपत्यकामा मात्रै ३ सय व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।