२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चित्लाङ ः जहाँ महाकविले यात्री कविता लेखे


२९ कार्तिक २०७७, शनिबार  

0
Shares

फाइल तस्विर

२९ कात्तिक ०७७, चित्लाङ्ग मकवानपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट रचनामध्ये एक हो ‘यात्री’ कविता । फूलप्रसाद लिएर मन्दिर दर्शन गर्न हिँडेका यात्रीको परिवेशलाई सो कवितामा मूल विषयवस्तु बनाइएको छ । आफू पनि यात्राकै क्रममा रहेका महाकविले ‘यात्री’ कविता रचना गरेका मकवानपुरको चित्लाङमा यसका बारेमा व्यापक चर्चा हुने गरेको छ ।
वरिष्ठ पत्रकार भैरब रिसालले महाकवि देवकोटा तत्कालीन रोयल नेपाल एकेडेमीको एकेडेमिसियन हुँदा आफू केही समय देवकोटाको सहयात्री भएको र त्यसक्रममा देवकोटासँग चित्लाङको बाटो हिँडेको स्मरण सुनाए । “हाम्रो सम्बन्ध उत्तमखालको थियो, म देवकोटासँग चित्लाङको बाटो हिँडको छु, त्यतिबेला बाइरोड खुलेको थिएन ।” उनी भन्छन्, “हामी चन्द्रागिरिको फेदीमा रहेको चित्लाङमा पलेटी कसेर खाना खान्थ्यौं, ‘बाहुन’ ले जस्तै धोतीपाटा लगाएर खाना पस्किन्थे ।”
महाकवि देवकोटाले ‘यात्री’ कविता रचना गरेको स्थान चन्द्रागिरि फेदीकै चित्लाङस्थित एक ढुङ्गेधारा रहेको स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरले जानकारी दिए । आफू काठमाण्डौंमा अध्ययन गर्दा ‘यात्री’ कविता अध्यापन गराउने बेला नेपाली विषयका गुरुले उक्त कविता चित्लाङमा बसेर लेखेको बताएको उउनी स्मरण गर्छन् । स्थानीय माध्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापक समेत रहेका उनलाई २०५२ सालमा महाकवि देवकोटाका सन्ततीहरुले भेटेर आफ्नो जिजुबाजेले यात्री कविता सिर्जना गरेको स्थान कहाँ होला भनी सोधेको उनले जानकारी दिए । “त्यसको दुई हप्तापछि महाकवि देवकोटाको सन्ततिहरुले ‘यात्री’ कविता लेखिएको ठूलो बोर्ड लिएर आए, हामीले चित्लाङ माथि उक्त बोर्ड राख्यौं, पछि त्यसको संरक्षण भने हुन सकेन । ” उनले भने ।
शताब्दी पुरुष सत्यमोहन जोशी महाकवि देवकोटाले चित्लाङमा बसेर ‘यात्री’ कविता रचना गरेको औंल्याए । जोशीले भने,“२००७ सालको क्रान्तिअघिसम्म काठमाण्डौंका मानिस चन्द्रागिरिको गढीबाट चित्लाङ, कुलेखानी, भीमफेदी, अमलेखगञ्ज, रक्सौल हुँदै भारत जान्थे । उताबाट पनि यही बाटो भएर आउँथे । महाकवि देवकोटा पनि भारत अध्ययन गर्न जाँदा त्यहीबाटो भएर धेरैपटक हिँडेको हुनुपर्छ ।” पैसावाल मानिसहरु तामदान चढेर जाने र लेखक–कविलगायत सर्वसाधारण हिँडेर जाने हुँदा सोही क्रममा महाकविले ‘यात्री’ लेखेको हुनसक्ने जोशीको अनुमान छ । “कविहरुले केही कुरा देखेपछि उनीहरुमा त्यसको प्रभाव पर्ने र त्यसलाई काव्यधारामा ढाल्ने कविहरुको विशेषता नै भएकोले यात्रीहरुको दिनचर्याबाट प्रभावित भएर देवकोटाले कविता लेखेको हुनुपर्छ,। ” जोशीले भने ।
‘यात्री’ कविताको चर्चा गर्दै शताब्दि पुरुष जोशीले भने, “देवकोटाका कैयौं महाकाव्य र कविताहरुमध्ये ‘यात्री’ आध्यात्मिक भावधारामा रचिएको दार्शनिकस्तरको कविता हो । शरिर आफैमा मन्दिर भएको र नबोल्ने देवतालाई हैन, आफैभित्रको बोल्ने देवतालाई चिन भन्ने सन्देश बोकेकोले ‘यात्री’ सबैका लागि स्वीकार्य छ ।”
स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरका अनुसार तराई तिरबाट आउँदा चित्लाङबाट चन्द्रागिरिको उकालो चढ्नुअघि यात्रीहरु फेदीमा केहीबेर आराम गर्थे । खानेपानीका लागि ढुंगेधारा थियो । त्यही ढुंगेधाराको पानी पिएर आराम गर्ने बेला महाकवि देवकोटाले ‘यात्री’ कविता लेखेका हुन् ।
भारत र तराई क्षेत्रबाट पशुपतिको दर्शन गर्न आएका ठूलाठूला जीउडाल भएका मानिसहरुलाई पटपट गोडा फुटेका दुब्ला मानिसहरुले बोकिरहेको देखेपछि महाकवि देवकोटाले ‘यात्री’ कविता रचना गरेको जोशीको भनाइ छ । ‘यात्री’ कविताले त्यो बेलाको चित्लाङ मार्गको परिवेशलाई झल्काउने जोशीले बताए । “ठूलावडा मानिसहरुलाई नोल लगाएर बोक्न लगाई विशेष प्रकारको गाडीमा चढेर आउजाउ गर्थे, स्थानीयहरुले बाटो छेउमा बसेर जय–जयकार गर्नुपथ्र्यो ।” उनले भने ।
‘यात्री’ कविता मकवानपुरको चित्लाङमा रचना गरिएको सुनेपछि वाग्मती प्रदेशका भौतिक मन्त्री रामेश्वर फुयाँलको पनि चासो बढेको छ ।“ चिनिया यात्री हुयान साङ र भारतीय सम्राट अशोकसमेत हिँडेको बाटो हो यो, महाकवि लक्ष्मीप्रसाद देवकोटा नहिँड्ने कुरै भएन । फुयाँलले चित्लाङको जुन धारामा बसेर यात्री कविता लेखे, त्यसको सम्मान गर्दै धारा रहेको क्षेत्रलाई विशेष सम्पदायुक्त बनाउनु पर्छ । ” फुयाँलले भने ।
महाकवि देवकोटाको सम्झनामा धारा संरक्षण, महाकविको पञ्चधातुको शालिक निर्माण, उद्यान निर्माण, लगायत पूर्वाधारहरुको विकास गर्ने विषयमा स्थानीयले गरेको प्रस्ताव स्वीकार गर्दै फुयाँलले भने, “तपाईंहरु अघि लाग्नुस्, मन्त्रालयको साथ रहन्छ ।” ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ११ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।