२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सय वर्ष पुगे पनि छैन नागरिकता


२२ मंसिर २०७७, सोमबार  

0
Shares

२२ मंसिर ०७७,सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १ सय वर्ष पार गरी सकिन् तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छिन् ।
“यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई राज्यले हेरेन”, उनले भनिन्, “वृद्धभत्ता मात्र लिन पाए पनि बनिबुतो गरेर मलाई पाल्ने नातिलाई सहज हुनेथियो ।” श्रीमान्को पनि निधन भएपछि पछिल्लो पाँच वर्षदेखि एक्लो बनेकी छत्रमायालाई नातामा नाति पर्ने पदमबहादुर रानामगरले बनिबुतो गरेर संरक्षण गर्दै आएका छन् । “आर्थिक अवस्था कमजोर भए पनि ज्याला मजदूरी गरेर उनीहरूले सकेको सहयोग गर्दै आएका छन् । सरकारले बूढेसकाल लागेपछि हेर्छ पालनपोषण गर्छ भन्ने सुनेको थिएँ तर मलाई वास्ता गरेनन”, उनले भनिन्, “नागरिकता बनाइदिए हुनेथियो मर्ने बेला भयो तर नागरिकता कस्तो हुन्छ थाहा छैन ।”

माइती पक्षका कोही पनि नहुँदा नागरिकता लिनबाट वञ्चित छत्रमाया यतिबेला राज्यले प्रदान गर्ने सेवा सुविधाबाट पनि वञ्चित हुँदै आएको स्थानीय एकराज पहाडीले बताए । “सकेको पालनपोषण गरेको देखिन्छ । नागरिकता भए पाल्ने र पालिने दुवैलाई केही राहत मिल्ने थियो”, उनले भने । साविक हतपते गाउँ विकास समितिमा माइती रहेको र आफन्त नरहेको वृद्धाले बताउँदै आएको उनले जानकारी दिए ।
कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीले आफूले दशैँमा १ सय वर्ष पार गरेको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा उनले नागरिकता नपाएको थाहा पाएको बताए । उनलाई नागरिकता दिलाउन कमलामाईले प्रमुख जिल्ला अधिकारीसँग पहल गर्ने बताए । यदि नागरिकता दिलाउन नसके पनि कमलामाईले संरक्षण गर्नुपर्ने ज्येष्ठ नागरिकका लागि संरक्षण गर्न नगरपालिकाले आवश्यक योजना बनाउने बताए ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले नागरिकतामा भर्नुपर्ने विवरणका आवश्यक प्रमाण पुगेमा उनले नागरिकता प्राप्त गर्नसक्ने बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।