११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंबाट चिनियाँ नागरिक लुट्ने समूह पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२२ चैत ०७७, काठमाडौं । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।
उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ ।
छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनीहरुले रु बीस लाख, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेको जनाइएको छ । प्रहरीले उनीहरुका साथबाट नगद रु सात लाख ९२ हजार छ हजार, छ हजार १ सय ७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद भएको प्रहरीले आजआइतबार एक सूचना जारी गरी जनाएको छ ।

रु ४३ लाखसहित पक्राउ
यसैबीच गएराति चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट रु ४३ लाख नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । दाङ तुलसीपुरबाट काठमार्डौँ आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा यो बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा रु ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ ।

सोधपुछ गर्दा यो रकम तथा सामान तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको भन्ने खुलेकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले रकमको स्रोत खुलाउन नसकेकाले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।