
१० वैशाख ०७७,काभ्रे । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ ।
यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ ।
पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता अभियानमार्फत सदस्यता दोब्बर पु¥याइएको काभ्रे कांग्रेसले जानकार दिएको हो ।
जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी सङ्ख्या २० हजार पु¥याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताए ।
‘अहिले काभ्रे कांग्रेसमा २० हजार क्रियाशील सदस्य भइसक्नुभएको छ, तोकिएको समयसीमाभित्र केन्द्रीय कार्यालयमा पठाउनेछौँ’ उनले भने ।
लामाले १३औँ महाधिवेशनका बेला जिल्लामा भएका १० हजार क्रियाशील सदस्यमध्ये ९५ प्रतिशतले नवीकरण गरेको जानकारी दिएका छन् ।
उनकाअनुसार नयाँ क्रियाशील सदस्यता थप भइरहेको छ । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेमा गत वर्ष पुसदेखि पुनः शुरु गरिएको थियो।
हालसम्म नवीकरण भएका सात हजार ७ सय सदस्य र पाँच हजार ४ सय नयाँ सदस्यको ‘कम्प्युटर इन्ट्री’ भइसकेको जिल्ला कार्यालय सचिव विनोद तिमल्सिनाले बताए ।
केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फत समेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो ।
नवीकरण र नयाँ सदस्यता गरी २० हजारभन्दा बढी भइसकेको उल्लेख गर्दै तिमल्सिनाले कम्प्युटर इन्ट्रीको काम भइरहेको बताए ।
केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय कार्यालयमा नयाँ क्रियाशील सदस्यता र नवीकरण सूची पठाउने समयावधि पटकपटक थप्दै आएअनुसार पछिल्लोपटक यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ ।
थपिएको यस अवधि अन्तिम रहेको जनाइएको छ । यसअघि सदस्यता बिस्तारको कार्यतालिकाअनुसार गत चैत ३० गतेसम्म तोकिएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार यो अवधिसम्म नवीकरण र नयाँ गरी छ लाख १० हजार १ सय ३४ त्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ ।
नेपालस्थित यो क्रियाशील सङ्ख्यामध्ये नयाँ दुई लाख ८९ हजार २ सय २१ र तीन लाख २० हजार ९ सय १३ नवीकरण भएका हुन् । गत १३ औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्ता रहेको कांग्रेसमा आउँदो १४औँ महाधिवेशसम्म यो सङ्ख्याको शतप्रतिशत सदस्यता थप्न पाउने व्यवस्था गरिएको छ ।
कांग्रेस नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २ सय र नयाँ सदस्यताका लागि रु ३ सय तोकेको छ ।
कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आउँदो असार २० गते, गाउँ÷नगर अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आउँदो साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने जनाइएको छ ।







प्रतिक्रिया