१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


समयमा सकिएन बन्चरेडाँडाको ल्याण्डफिल साइट



सिसडोल ल्याण्डफिल साइट ।

६ जेठ ०७८, काठमाडौं । कोरोना संक्रमणको कारण कामदार ल्याउन समस्या भएपछि नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्याण्डफिल साइट अझैं निर्माण सम्पन्न भएको छैन ।
वर्षाको समय शुरु हुनुअगावै बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन यस ल्याण्डपिल साइटमा फोहर फ्याक्न सकिने बताइएको छ । समग्रमा निर्माणको कामअन्तर्गत अहिले ६३ प्रतिशत काम सम्पन्न भएको छ ।
शहरी विकासमन्त्री प्रभु साहले फागुन तेस्रो सातासम्ममा फोहर विसर्जन गर्न मिल्ने गरी काम सक्न कामदारलाई निर्देशन दिएका थिए । फागुन पहिलो साता नै मन्त्री साहले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको जनाउँदै काममा ढिलाइ भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारवाही गर्ने चेतावनीसमेत दिएका थिए ।
केही समय कोरोना भाइरसका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्रगतिमा भइरहेको बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ । काठमाडौँ महानगरपालिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप यो जिम्मेवारी पाएको हो । यस स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने छ ।
सेल वान र सेल टु गरी दुई भागमा विभाजन गरी निर्माणको काम भइरहेको र पहिलो सेलको काम थोरै मात्र बाँकी रहेकाले वर्षाको समयअघि नै फोहर विसर्जज गर्न सकिने गरी काम भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणका आयोजना उपप्रमुख मनोज नकर्मीले जानकारी दिइन् । अहिले सेल वानको पोखरी ढलानको काम भइरहेको छ । यसअघि भएका ८० कामदारले नियमितरूपमा काम गरिरहेका छन् ।
उपप्रमुख नकर्मीले भनिन्, “वर्षाको समयमा काठमाडौँ उपत्यकामा अन्य समयको भन्दा बढी फोहर उत्पादन हुने हँुदा व्यवस्थापन गर्न कठिन हुन्छ, त्यसैले यस समयलाई केन्द्रित गरी निर्माणको काम भइरहेको छ ।” पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै शहरी विकास मन्त्रालयले कामको प्रकृति हेरी फागुन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको फोहर दीर्घकालीनरूपमा व्यवस्थापन गर्न सकिने बताउँदै आए पनि कोरोनाले केही समस्या पारेको हो ।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । शुरुमा सम्झौता गरिएको समयसिमा सकी २०७७ वैशाखमा पुनः एक वर्षका लागि समय थपेको थियो । याृ समय पनि सकिएको छ । दोस्रोपटक थपिएको समयमा पनि निर्माणको जिम्मा पाएको कम्पनीले काम सम्पन्न नगरेपछि तेस्रोपटक समय थप्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

निर्माणका लागि भ्याटबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिएअनुरुप यो काम अहिले सम्पन्न भइसकेको छ । शहरी विकास तथा भवन निर्माण विभागले भने दीर्घकालीनरूपमा फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहरलाई स्रोतबाट नै पहिचान गर्नुपर्ने जनाएको छ ।
तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । अव्यवस्थितरूपमा लामो समयदेखि एकै स्थानमा फोहर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थितरूपमा फोहर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै विरोध गर्दै आएका छन् ।
उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । त्यसमा सबैभन्दा बढी कामनपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र महानगरपालिकाका गरी २०० गाडी फोहर लगिने गरिएको छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।