१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


छाडा पत्रकारिताको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता : अध्यक्ष बस्नेत




२३ जेठ ०७८, काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकमा बढ्दै गएको छाडा पत्रकारिताको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । सञ्चारग्रामस्थित काउन्सिलमा आज आइतबार सपथग्रहण र पदबहाली गर्दै बस्नेतले सञ्चारमाध्यम र सञ्चारकर्मीको सङ्ख्या बढ्नु खुशीको कुरा भएको सुनाउँदैे पत्रकारले जिम्मेवार र मर्यादित भएर काम गर्नु अहिलेको आवश्यक भएकोे धारणा राखेका छन् ।
पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति कडारूपमा प्रस्तुत हुने बताएका छन् । बस्नेतले राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने बताए । केही बेथितिका कारणले पत्रकार र गैरपत्रकार छुट्याउन गाह्रो भैरहेको तथा अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै उनले अब अनुगमन कडाइका साथ गर्ने उल्लेख गरे ।
“काउन्सिल राम्रो संस्था हो भन्ने आभास दिलाउने गरी काम गर्छु”, अध्यक्ष बस्नेतले भने, “आफूले काम नगरी अरुलाई दोष दिने प्रवृत्ति हावी छ, यसलाई कम गर्न मेरो प्रयास रहन्छ ।” पत्रकारितामा विकृति विसङ्गति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसलाई हटाउन जरुरी रहेको उल्लेख गरे । केही गैरजिम्मेवार व्यक्तिका कारण समाजले सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्दै गएको उनको भनाइ थियो ।

“पत्रकारितालाई बदनाम गराउने व्यक्तिहरुका कारण सक्रिय पत्रकार आजित छन्”, उनले भने, “पछिल्लो समय वास्तविक पत्रकारलाई काम गर्न मुस्किल भएको छ, अब काउन्सिल यसमा गम्भीर भएर लाग्छ ।” केहीले अनलाइन र युट्युवका नाममा समग्र पत्रकारितालाई नै बदनाम गर्ने काम गरिएको भन्दै अध्यक्ष बस्नेतले काउन्सिलले त्यस्ता व्यक्ति र संस्थामाथि निगरानी गर्ने बताए । कसले कहाँबाट के कसरी अनलाइन र युट्युव सञ्चालन गरिरहेका छन् ? कुनै अत्तोपत्तो नै नभएको सुनाउँदै उनले ती सबैलाई वैधानिक र मर्यादितरुपमा सञ्चालन गराउन काउन्सिलले कदम चाल्ने बताए ।
वास्तविक सञ्चारमाध्यम र सञ्चारकर्मीको श्रीवृद्धिका लागि कदम चाल्ने आफ्नो सोच रहेको उनको भनाइ थियो । लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तथा राज्यबाट बढीभन्दा बढी सुविधा दिलाउन काउन्सिलले पहल गर्ने अध्यक्ष बस्नेतले उल्लेख गरे । पछिल्लो समय सञ्चारकर्मीको ध्यान सधैँ नकारात्मक समाचारमा बढी ध्यान केन्द्रित हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,“आचारसंहितालाई लत्याउँदै समाजमा अफवाह फैलाउने कार्य बन्द गर्नुपर्छ, काउन्सिल यसमा गम्भीर छ, अटेर गर्नेलाई ऐन अनुसार दण्डको भागिदार बनाउँछौँ”, उनले भने । सञ्चारमाध्यमको प्रवद्र्धन आवश्यक भएको सुनाउँदै अध्यक्ष बस्नेतले वैज्ञानिक वर्गीकरण गरी बढीभन्दा बढी सेवा सुविधा दिलाउन आफूले सक्दो पहल गर्ने बताए । सरकारले काउन्सिलको महत्व बुझेर नै समयमै अध्यक्ष पदमा नियुक्ति गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट पारे ।

कोरोनाको महामारीका कारण सञ्चारकर्मीले अनेकन समस्या झेल्नु परिरहेको उल्लेख गर्दै उनले त्यसका लागि काउन्सिलले सहयोगी भूमिका निर्वाह गर्ने बताए । कोरोनाका कारण ज्यान गुमाउने सञ्चारकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले कोरोनाबाट सङ्क्रमित भइ उपचार गराइरहेकाको श्वास्थ्यलाभको कामना गरे । सङ्क्रमितको उपचारका लागि काउन्सिलले पहल गर्ने उनले र राहत तथा सङ्क्रमण खेपिरहेकाको हकमा उपचार जरुरी भएको जानकारी दिए ।

कार्यक्रममा काउन्सिलका सदस्यसचिव गोगनबहादुर हमालले युवा क्षमतालाई खेर जान नदिइ सिङ्गो टिम संस्थाको भलाइका लागि लाग्ने बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारिताको क्षेत्रमा काम गर्ने निकाय काउन्सिल र महासङ्घबीच सहकार्य हुने बताए । काउन्सिलका सदस्य दीपक पाण्डेले लामो समयपछि काउन्सिलले अध्यक्ष पाएको भन्दै महासङ्घसँग भन्दा पनि काउन्सिलसँग पत्रकारको बढी अपेक्षा हुने गरेको बताए ।
दोलखाको भीमेश्वर नगरपालिका ५ घर भएका बस्नेतलाई मन्त्रिपरिषद्को बैठकले गत बिहीबार काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन् । उनलाई शुक्रबार तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्षमा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । उनी प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ उपदफा १(क) बमोजिम चार वर्षका लागि नियुक्त भएका हुन् ।
विसं २०५२ सालमा ‘छलफल’ साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका बस्नेतले २०५७ सालमा ‘कान्तिपुर दैनिक’मा आवद्ध भइ यो संस्थाको जिल्ला ब्युरो प्रमुख भइ काम गरेका थिए । पछिल्लो समय उनी नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्य तथा ‘खुला नेपाल’ अनलाइनको सल्लाहकार सम्पादकको भूमिकामा रहेका थिए । अध्यक्ष बस्नेतले आमसञ्चार र राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानूनमा स्नातक तह उत्तिर्ण गरेका छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।