१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रूखमाथि ‘घर’ बन्यो पर्यटकको अर्कषण




३१ जेठ ०७८, तनहुँ । म्याग्दे गाउँपालिका २ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५–२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् ।
रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रूखमाथि घर बनाइएको छ । गत फागुनदेखि निर्माण शुरु भएकामा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिएका छन् ।
“जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यका रुपमा विकास भइरहेको छ”, उनले भने । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।

पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको यस ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । “यस ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन योजना अगाडि सारेका हौँ”, उनले भने, “रूखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।”
रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । “दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ”, उनले भने । यस ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजीकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ ।
डिभिजन वन कार्यालयमार्फत गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भिमाद नगरपालिका १ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका १४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।

चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछ । हरितपार्क कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका ८ पीपलडाँडामा रु १२ लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिनेछ । सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी नगरपालिका १२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । यसका लागि वन कार्यालयले रु पाँच÷पाँच लाख बजेट विनियोजन गरेको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।