११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नागढुङ्गा सुरुङ निर्माण सुस्त   



१६ माघ ०७८, काठमाडौँ ।  देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो ।

सङ्क्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन । कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरु कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । शारीरिक रुपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए ।

उनले भने, “स्वास्थ्य मापदण्डका आधारमा पनि सक्छु भने पनि नेगेटिभ नआएसम्म काममा लगाउन सकिँदैन ।” निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकामा अहिले त्यो सङ्ख्या चार सय हाराहारीमा छ ।

निर्माणस्थलमा नै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ । आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताए ।

अहिले दैनिक ६÷ ७ मिटर मात्रै खनिरहेको छ । सुरुङ खन्न सुरु भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गत वर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए । उनले भने, “निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकामा अहिले सङ्क्रमण बढेकाले केही समस्या भएको छ ।”

आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झण्डै डेढमहिना ढिला छ । निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए ।
अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ । साउननसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम (फिनिसिङ) हुनसक्छ । अबका दिनमा अरु कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उनले बताए । कोरोना र अरु अवरोधका कारणले बाधा पु¥याएमा भने अवधि सकिँदा काम बाँकी रहनसक्छ ।

उनले भने, “अहिले एक हप्ता जसरी नै ढिला भएमा अझै पछाडि जानसक्छ ।” निर्माणस्थलमा जग्गाको विवाद रहेकामा अहिले त्यो समाधान भइरहेको छ । धादिङतर्फ पूरानो विवाद बाहेक नभएको र काठमाडौँतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताउनुभयो । सो स्थानमा रु ३० करोड मुआब्जाबापत बाँडिरहेको र अब रु ३५ करोड आउन लागेको छ ।

त्यसपछि रु २० करोड आएपछि काम गर्न पर्याप्त हुने उहाँले बताउनुभयो । धादिङमा अख्तियारमा उजूरी परेका पाँच जग्गा बाहेक अरुतिर जग्गा प्राप्तिको समस्या छैन ।

आयोजनासँग जोडेर बीचबीचमा स्थानीयवासीको गुनासो आउने गरेको छ । कहिले पानी सुक्यो त कहिले सडकका विषयमा स्थानीयवासीको गुनासो आउँदा सम्बोधन गर्दै निर्माण अघि बढाइएको प्रमुख शाक्यले बताउनुभयो । स्थानीयवासीको पानीको समस्या समाधानका लागि पानी ट्याङ्की बनेको छ । पाइप विच्छाउने कामका लागि आयोजनाले बजेट दिएर नगरपालिकाले गर्ने भएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ०९ बजे