५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दुधकोसी जलविद्युत आयोजनालाई जग्गा अधिग्रहणको तयारी




२१ चैत ०७८, काठमाडौं । ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी सुरू भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रकृया अघि बढाइएको हो । वहुचर्चित आयोजनाको निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नौ हजार रोपनी र सोलुखुम्बुको पाँच सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो । ओखलढुंगाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि २३ फागुनमा सूचना निकालिएको थियो ।

सरकारी जग्गा बाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका उपनिर्देशक सिताराम प्रखाछेँले बताए । आयोजनाका अनुसार खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार तीन सय चार कित्ता, ऐसेलुखर्क गाउँपालिकाका पाँच सय २२ कित्ता, ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाका दुई हजार चार सय नौ कित्ता जग्गा अधिग्रहणको तयारी गरिएको छ । सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गर्न लागिएको उपनिर्देशक प्रखाछेँले बताए । सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्यमा रोक लगाइएको छ ।

खोटाङतर्फको जग्गा गत २३ असारदेखि नै रोक्का छ । तर, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने पावर हाउस, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने ड्याम र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहणका लागि पनि २६ फागुनमा अर्को सूचना प्रकाशन गरिएको छ । यसका लागि थप दुई हजार रोपनी जग्गा अधिग्रहण हुने आयोजनाले जनाएको छ । लामीडाँडाको रभुवाबजारमा दुई सय मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।