३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोदावरीमा मेयर आकाँक्षीको लस्कर




१५ चैत्र ०७८, चापागाँउ । स्थानीय निर्वाचन आउन झण्डै एक महिना बाँकी रहँदा मध्य ललितपुरको गोदावरी नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा मेयरको आकाँक्षा राख्नेहरुको लस्कर देखिएको छ ।
ललितपुरको एमालेभित्र संघीय सासंद चेतनाथ सञ्जेल र नेता गम्भिर रानाको मेयर पदमा उम्मेदवारीको चर्चा सुरु भएको छ ।
नेपाली काँग्रेसमा मेयर गजेन्द्र महर्जनको टीम नै दोहो¥याउने दाउमा छ भने पुरुषोत्तम सिलवाल, चक्र महर्जन र रामशरण घिमिरेलगायत दावेदारी प्रस्तुत गर्न दौडधुपमा छन् ।
माओवादी केन्द्रका महेन्द्र श्रेष्ठ,भाग्यराम महर्जन, न्हुच्छेराम महर्जन रामप्रसाद दाहालको पनि मेयरको आकाक्षी छन् । माओवादीबाट गोदावरी नगरका अध्यक्ष समेत रहेका महर्जन गठबन्धनसँग मिलेर उम्मेदवारी दिने तयारी रहेको बताउछन् । महर्जन भन्छन्, ‘सम्मानजनक अवस्था नभए हामी एक्लै पनि लड्ने सम्भावना छ ।’
वागमती प्रदेशका सासंद समेत रहेका एमाले नेता चेतनाथ सञ्जेल कार्यकर्ताहरुले मेयर जित्ने उम्मेदवार आफू भएको चर्चा हुने गरेको बताउछन् । भन्छन्,‘मैले रहर गरेर मात्रै हुदैन । पार्टीले जिम्मेवारी दिए भाग्न पनि मिल्दैन ।’
स्थानीय नेता राना भने आफू मेयर पदको उम्मेदवारीको पक्षमा खुलेरै बहस सुरु गरेको बताउछन् । ‘मैले मेयरको दावी गरेर अघि बढेको छु । खै मैले त कसैले एमालेबाट मेयरको दावी मेरो हो भनेर अघि बढेको देखेको छैन । कोठा कोठामा चाही के हुन्छ थाहा छैन ।’ उनी भन्छन् ।
एमाले गोदावरी नगरपालिका कमिटी अध्यक्ष प्रभाकर थापा,ब्रम्हानन्द श्रेष्ठ, रघुनाथ महर्जन र रमेशचन्द्र घिमिरेलगायत मेयरको लागि कार्यकर्ता पंक्तिमा चर्चा हुने गरेको छ । एक नेताले नाम नबताउने शर्तमा भने,‘एमाले पंक्तिमा मेयरको उम्मेदवारीको चर्चा गम्भिर र चेतनाथको धेरै नै भइरहेको छ । उहाँहरुको कुरा मिलेन भने तेश्रो व्यक्तिको लागि हानथाप होला ।’
सासंद सञ्जेलले नगरपालिकामा उम्मेदवारी दिने अवस्थामा सासंद पद रिक्त हुने र फेरि निर्वाचन गर्नु पर्ने अवस्थाका कारण मेयरमा पार्टीले टिकट दिने सम्भावना कम रहेको पार्टीमा चर्चा हुने गरेका उनको भनाई छ ।
नगरपालिकाका प्रवक्ता समेत रहेका नेपाली काँग्रेसका नेता मीलन सिलवाल नगरपालिकाका सबै पदाधिकारीहरु फेरि दोहो¥याउने इच्छा देखाइरहेको बताउछन् । भन्छन्, ‘म आफै पनि गोदावरी ५ नम्बर वडामा फेरि उम्मेदवारी दिने इच्छा व्यक्त गरिरहेको छु ।’ नगरपालिकाका प्रवक्ता सिलवाल नगरपालिकामा आउनासाथ भौतिक संरचना र कानून नहुँदा भने जसरी काम गर्न नसकेको बताउछन् । भन्छन्, ‘हामीलाई कोरोनाका कारण काम गर्ने भन्दा पनि जनताको ज्यान जोगाउनतिर लाग्नु पर्यो ।’
उपमेयर मुना अधिकारी स्थानीय निकायमा भर्खर काम गर्ने वातावरण बनेकोले उपमेयरमा फेरि उम्मेदवारीको आकाक्षा राखेको बताउँछिन् । भन्छिन्, ‘सुरुका दिनमा कसरी काम गर्ने धेरै अन्यौल थियो । आफ्नो भवन थिएन कानून थिएन । लामो समय स्थानीय निकाय रिक्त थियो । कसरी का मगर्ने सिकाइदिने मान्छे थिएन ।’
एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले भने आफ्नो पार्टीमा उम्मेदवारीका सम्बन्धमा छलफल चलि नसकेको बताउछन् । उनी भन्छन्, ‘गठबन्धनका साझेदार दलहरुको जिल्लामा भर्खर संयन्त्र बनेको छ । हामी निर्णय गरेर साझा उम्मेदवार छान्छौं ।’

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।