१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


भक्तपुरको बिस्केट जात्रा शान्तिपूर्ण रुपमा मनाउन आह्वानसहितको सद्भाव र्‍याली



२७ चैत ०७८, काठमाडौं । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आज विहान सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको छ । सचेतना कार्यक्रममा भक्तपुर नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टीम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको उपस्थिति रहेको थियो ।

सचेतना कार्यक्रमपछि टौमढीमा आयोजित सभामा संघीय सांसद प्रेम सुवालले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा समयमै सम्पन्न गर्न सरोकारवाला निकायहरुले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । भक्तपुरको सभ्यता र संस्कृतिलाई जोगाउन सद्भाव र्‍यालीको महत्वबारे चर्चा गरे ।

कार्यक्रममा आयोजक भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको प्रसिद्ध जात्रा भएको हुँदा यसलाई सभ्य तरिकाले सम्पन्न गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरी जात्रा समयमा सम्पन्न गर्न आग्रह गरिरहेको बताए । प्रमुख प्रजापतिले जात्राको समयमा हुने उच्छृंखल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्ने र जात्रालाई सहज रुपमा सञ्चालन गर्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्ति सुरक्षाको निम्ति व्यवस्था मिलाउने प्रतिबद्धता जनाउँँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओलीले भक्तपुरको धार्मिक र सांस्कृतिक रुपमा महत्व बोकेको प्रसिद्ध बिस्का जात्राबारे कार्यतालिका प्रस्तुत गर्दै बिस्का जात्रा समन्वय, सहकार्य र समझदारीको आधारमा भव्य, सभ्य र सुरक्षित तरिकाले सफल पार्न अनुरोध गरिन् ।

सचेतना कार्यक्रम सुरु हुन अगाडि भक्तपुर(९ को सूर्यमढी र भनपा १ दुधपाटीबाट सुरु भएको सद्भाव र्‍याली टौमढीमा पुगी सभामा परिणत भएको थियो । र्‍यालीमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर(१ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भक्तपुर(७ का वडाध्यक्ष उकेश कवांले पनि बोलेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : २१ बजे