३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बास्कोटा र तुलाधर विवेकशील साझाको काठमाडौंका मेयर र उपमेरका उम्मेदवार




२८ चैत्र ०७८, काठमाडौं । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिला क्रमशः समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकले उनीहरुको उम्मेदवारी टुंगो लागेका पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमार्फते जानकारी दिएका हुन् ।
समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।
कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ–संगठनको नेतृत्वदायी भूमिकामा छिन् ।

दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने अध्यक्ष मिश्रले बताएका छन् । उनका अनुसार घोषणापत्र भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला–संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण,खुला क्षेत्रको संरक्षण र विस्तार, नदी–नालाको सफाई र पुनर्स्थापना ६) सफा र व्यवस्थित काठमाडौँ, र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा बताएका छन् ।
“विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना “इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध“ महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने” विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन् ।
बास्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं ७ बाट सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेकी अनुपा श्रेष्ठले गर्नेछिन् ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।