१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पुरानो बसपार्क भ्यूूटावर निर्माणपछि राजधानीका यात्रुलाई समस्या



काठमाडौँ
२१ फागुन । भ्यू टावर निर्माण र तला थप गर्ने विषयले बसपार्क सञ्चालनका लागि अझै समस्या हुने भएको छ । टावर निर्माणका लागि लामो समय लाग्दा सार्वजनिक यातायात सञ्चालन गर्न समस्या भएको हो । हाल भ्यू टावर निर्माण भइरहेको स्थानबाट काठमाडौँ उपत्यकालगायत स्थानको लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साबिक पुरानो बसपार्क काठमाडौँ भ्यू टावर निर्माण भए पनि निर्माणको काम समयमा नै सम्पन्न हुन नसकेपछि बसपार्क व्यवस्थापनमा फेरि समस्या भएको छ ।
निर्धारित समयमा टावर नबन्दा बसपार्क सञ्चालनमा समस्या आएको भन्दै महानगरले यस विषयमा छलफल सुरु भएको जनाए पनि बसपार्क थप व्यवस्थापनको विषयमा भने स्थान तय गर्न सकेको छैन । विसं २०७२ साल साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साबिकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम सम्पन्न नहुँदा समस्या भएको एकाइका प्रमुख न्यौपानेको भनाइ छ ।
टावर निर्माणको कामअन्तर्गत सुरुको ६ महिनामै अन्डरग्राउन्ड निर्माण सकेर बसपार्कलाई पुरानै ठाउँमा सार्ने भनिए पनि अझै कहिले बसपार्क सर्ने हो टुङ्गो लागेको छैन । टावर निर्माण उक्त स्थानबाट काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु आवतजावत गर्ने गरेका थिए ।
काठमाडौँ ‘भ्यू टावर’ निर्माणबारे पुल्चोक इन्जिनियरिङ क्याम्पसले थाल्यो अध्ययन
काठमाडौँ दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माणबारे प्राविधिक चेक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन अघि बढाएको छ ।
साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तलासम्म सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पपछि १२ तलाको बनाउने भनेर काम थालिएको भए पनि अहिले १२ तलालाई बढाएर २९ तला बनाउने तयारी महानगरको छ । प्राविधिकले जाँच गरेपछि उनीहरूकै सल्लाहमा तला थपको काम अघि बढाइने महानगर सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिएका छन् ।
प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोही अनुसार निर्माणको काम अघि बढाइएको हो । “अहिले हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, थप्न मिल्छ कि मिल्दैन जस्ता विषयको अध्ययन अनुसन्धान गर्न क्याम्पसलाई जिम्मा दिएको हो”, काफ्लेले भने । चार हप्तामा सक्नेगरी १० दिनअघि क्याम्पसलाई उक्त जिम्मेवारी दिइएको महानगरको भनाइ छ ।

स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि महानगर र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरे पनि निर्माणका लागि भने तोकेकोभन्दा बढी समय लागाइएको छ ।
सम्झौताअनुसार २०७८ साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । सम्झौताअनुसार निर्माण कम्पनीले वार्षिक रु एक करोड रकम महानगरलाई तिर्नुपर्ने हुन्छ । उक्त रकम आजसम्म तिरिरहेको महानगरको भनाइ छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कलासंस्कृति झल्किने किसिमको हुने बताइएको छ ।
कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो ।
त्यसैगरी, टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछ । टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ ।
सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ । सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण सम्पन्न हुने टावर सुरुमा २९ तले बन्ने सम्झौता भएको थियो । तर २०७२ सालको भूकम्पपछि टावर निर्माणले १२ तलाभन्दा बढीको स्वीकृत पाएन । सोही अनुसार १२ तले भ्यू टावरको सोही वर्षको कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ६ : ०३ बजे