८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आठ हजारभन्दा धेरै पसलमा नापतौलमा ठगी



६ चैत्र । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो ।
पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए । उनले भने, “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ । ”
सो कार्यालयले फागुन महिनासम्म दुई हजार ७५ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ । सीमित स्रोत र साधनबीच बजार अनुगमनको कार्यलाई तीव्रता दिएको सो कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि एक सय २५ पटक एकल अनुगमन र एक सय १६ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताए ।
चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार आठ सय ६९ व्यापारीले नापतौल तथा नाप्ने तौलने यन्त्र जाँच गरेका छन् । यस्तै, च चार सय १५ पेट्रोलियम पदार्थ वितरण पम्प जाँच, ७९ भेहिकल टैङ्क जाँच, पाँच हजार ७० ट्याक्सीको मिटर जाँच गरेको छ ।
कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताउछन् । “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ”, उनले भने ।
सो कार्यालयले चालु आवको आठ महिनामा रु एक करोड ३५ लाख ६३ हजार छ सय ७९ राजस्व सङ्कलन गरेको छ ।
सो कार्यालयले हाल काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ४८ बजे