५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पुष्प मेलामा रु एक करोड सात लाख कारोबार



२१ चैत्र । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा रु एक करोड सात लाख बराबरको कारोबार भएको भएको छ । मेलामा ३९ हजार तीन सय ५० जनाले अवलोकन गरेका थिए । आयोजकले मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिएको भए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिएका छन् ।

यही चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ ।

मेलामा विशेषगरी नयाँ प्रजातिका घरभित्र सजाउन प्रयोग गरिने फूल र घरबाहिर बगैँचामा सजावटका लागि प्रयोग गरिने फूल उपभोक्ताको रोजाइमा परेको पनि अध्यक्ष तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङले भने, “कोरोनाले महामारीको रूप लिएको वर्षमा बाहेक विगत २० वर्षदेखि हरेक वर्ष मेला गर्दै आएका छौँ तर यति राम्रो कारोबार अहिलेसम्म भएको थिएन, बजारमा फूलको माग बढेछ ।” फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सञ्चालन गरिएको मेलामा ७० कक्षमा चार सय ५० भन्दा बढी फूल बिरुवाको प्रदर्शनमा राखिएको थियो ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । कोरोना महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न निकै सहज हुने बताइएको छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।