१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


नमोबुद्ध र बेथानचोकमा निःशुल्क इन्टरनेट



 

१६ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो ।

नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ । नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक बजार क्षेत्रमा सो सेवा विस्तार गरिएको बताए । वल्र्ड लिकं कम्युनिकेशनसँगको सहकार्यमा नगरपालिकाले विपी राजमार्गको बुच्चकोट बजार क्षेत्रदेखि भकुण्डे बजार क्षेत्र, बुद्धचोक, जगवैद्येश्वर मन्दिर क्षेत्र, नौबिसे चोकलगायत सात स्थानमा फ्रि वाइफाईको व्यवस्था गरिएको हो ।

वल्र्ड लिङ्कका वाग्मती प्रदेश व्यवस्थापक निकेश अधिकारीले नगरपालिकासङगको समन्वयमा बजार क्षेत्रमा निःशुल्क फ्रि वाइफाइको सेवा विस्तार भइसकेको बताए । अहिले जोडिएका ठाउँमा भनेजस्तो सेवा प्राप्त गर्न नसके तत्काल गुनासोका सम्बोधन गर्नाका साथै धेरै स्थानमा सेवा विस्तार गर्दै जाने उनको भनाइ थियो । सेवा प्रवाहका क्रममा केही समस्या आए तत्काल परिमार्जन गरिने व्यवस्थापक अधिकारीले जानकारी दिए ।

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार एक पटक जडान गरेपछि पाँच वर्षसम्म सेवा लिन सकिने डिभाइसको व्यवस्था गरिएको छ । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था पनि नगरपालिकाले गरेको छ । नगरले छिट्टै दाप्चा बजार क्षेत्र र नमोबुद्ध गुम्बा क्षेत्रमा पनि निःशुल्क वाइफाइ विस्तार गर्ने तयारीमा रहेको जनाएको छ ।

त्यसैगरी बेथानचोक गाउँपालिकाले पनि सबै वडामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ । ‘डिजिटल बेथानचोक’ नारासहित पहिलो पटक सबै वडाको निश्चित् स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए । इन्टरनेट सेवा प्रदायक अल्ट्रानेटसँग सम्झौता भएको र ती क्षेत्रमा २० एमबिपिएसको डेडिकेटेड इन्टरनेटको वाइफाइ छोडिएको जनाइएको छ । हरेक युग सूचना प्रविधिकै युग भएकाले निःशुल्करुपमा इन्टरनेट चलाउन पाउने व्यवस्था गरिएको उनले बताए ।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले छ वटा वडाको सबैलाई पायकपर्ने स्थानलाई निःशुल्क वाइफाइ क्षेत्र बनाइने जानकारी दिए । इन्टरनेट सेवा चालु भएपछि स्थानीयवासीले सहजै वाइफाइ जोड्न फ्रिओटीपी सिस्टमबाट पासपोर्ट नै नचाहिने गरी सेवा लिनसक्ने छन् ।
रासस

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  २ : ५८ बजे