८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, बर्खास्त गर्न माग



२५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको छ । संस्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४९ सदस्यले हस्ताक्षर गरेका छन् ।

उनीहरूले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव हस्तान्तरण गरेका छन् । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्ता हुनासाथ अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाएको बताए ।

पूर्व महासचिवसमेत रहेका तुलाधरले अवैधानिकरुपमा आयोजना गर्न लागिएको विशेष साधारण सभा रोक्ने मागलाई बेवास्ता गरिएका कारण विधान अनुसार अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको जानकारी दिए ।

उनीहरुले विशेष साधारण सभा भर्चुअलमार्फत गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रूपमा बिनाआवश्यक अख्तियारी आर्थिक कारोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेकोलगायतका आरोप अध्यक्ष नेम्वाङ र महासचिव राईमाथि लगाएका छन् ।

नेपाली फुटबल तथा एन्फाको अन्तर्राष्ट्रिय छविमै दाग आउने गरी फिफा विश्वकप कतारको खेलका टिकटहरु राजनीतिक अनुग्रह प्राप्त गर्नका लागि एएफसीका पदाधिकारीलाई अनधिकृतरुपमा प्रदान गरी भ्रष्ट व्यवहारमा संलग्न भएकोसमेत उनीहरुको आरोप छ ।

यस्तै शहीद स्मारक लिगको संरचना बिगारेको, लिगहरु सञ्चालन गर्न नसकेको र राष्ट्रिय लिग गर्न नसकेको, डिभिजन क्लबहरुको मताधिकार कुण्ठित गरेको, नेपाली फुटबललाई धारासायी बनाएको, क्लब एकेडेमी सञ्चालनमा बेवास्ता गरेको तथा ग्रासरुट कार्यक्रम सञ्चालन गर्न नसकेको, महिला लिग तथा प्रतियोगिता सञ्चालन गर्न नसकेको, फिफाबाट आउने पूर्वाधारका लागि प्राप्त अनुदानलाई प्रतियोगिताहरु आयोजनाको लागि रकमान्तर गरेको समेत उनीहरुले आरोप लगाएका छन् ।

विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न उनीहरूले लेखेको निवेदनमा उल्लेख छ । ४० प्रतिशत सदस्यको निवेदनपछि अब २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने एन्फाको विधान उल्लेख छ । एन्फाले साधारणसभा नबोलाएमा आफूहरूले साधारण सभा आह्वान गर्ने पनि सदस्यहरूले लेखेको निवेदनमा उल्लेख छ । साधारण सभामा दुई तिहाइ मत पुगेको अवस्थामा मात्र बर्खास्त हुन सक्ने प्रावधान छ ।

यसैबीच अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबारको विशेष साधारण सभा स्थगित भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा स्थगित भएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघको पूर्व कार्यक्रम अनुसार मिति २०८० भदौ २५ गते सोमबारका दिन ११ः०० बजे एन्फा विशेष साधारण सभा बैठक अनलाइनमार्फत बस्ने कार्यक्रम रहेकोमा एन्फा सदस्य संस्थाहरुको विशेष सल्लाह सुझावबमोजिम एन्फा अध्यक्षबाट उक्त विशेष साधारण सभा स्थगित गरीएको जानकारी गराउँदछु ।’

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १० : ३६ बजे