१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रेको दुर्गम क्षेत्र महाभारतको सडक अलपत्र



काभ्रेपलाञ्चोक
५ पुस । काभ्रेपलाञ्चोकको दुर्गम दक्षिणी क्षेत्र (डाँडापारि)मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे देवीटार सडकखण्डको आठ दशमलव सात किलोमिटर सडकखण्ड निर्माण करिब डेढ वर्षदेखि अधुरो अवस्थामा छ ।
कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ ।

निर्माण व्यवसायीको लापरवाही तथा ढिलासुस्तीका कारण वर्षात्को समयमा चार महिनासम्म उक्त सडक अवरुद्ध बनेको स्थानीयले बताएका छन् ।
विसं २०७९ असार मसान्तसम्म अवधि रहेको उक्त सडकखण्ड निर्माणको ठेक्का लिएको श्रेष्ठ सक्षम जेभी कम्पनीलाई पटक पटक मौखिक र लिखितरूपमा ताकेता गर्दा बेवास्ता गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय तथा पूर्वाधार विकास कार्यालयलाई पनि जानकारी गराइएको थियो ।

उक्त मङ्गलटर चारकिल्ला–तीनखुट्टे–बनखु सडक आयोजनाको विसं २०७७ असोज २० गते बागमती प्रदेशका तत्कालीन मन्त्री रामेश्वर फुँयालले तीनखुट्टेमा शुभारम्भ गरेका थिए । सडक अभावमा विकट मानिएको महाभारत गाउँपालिकाको तीनखुट्टे देवीटार सडकखण्ड स्तरोन्नतिसहित कालोपत्रका लागि रु ४९ करोड बजेट विनियोजन गरिएको थियो । म्याद सकिँदासम्म उक्त आयोजनाको ५० प्रतिशत निर्माण भएको छ ।

उक्त सडकखण्डमा सडक स्तरोन्नतिअन्तर्गत नाली निर्माण, रिटेनिङ वाल, ग्याविङ्ग वाल, कजवे, कल्भर्टलगायतका संरचनासँगै ३० एमएमको कालोपत्र गरिने योजना बनाइएको थियो । “पक्की सडक निर्माण भएपछि महाभारत क्षेत्रको विकास र समृद्धिमा थप मद्दत पुग्ने अपेक्षा गरेका थियौँ”, अध्यक्ष जिम्बाले भने ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ४ : २४ बजे