६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालले एक खेल अगावै जित्यो क्यानडाविरुद्धको सिरिज



२७ माघ । घरेलु टोली नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज एक खेल अगावै जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराएसँगै लगातार दुई जित निकालेको नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २-० ले सिरिज जितेको हो । पहिलो खेलमा बिहीबार नेपाल ७ रनले विजयी भएको थियो ।

क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा तीन खेलाडीले अर्धशतकीय इनिङ खेले । कप्तान रोहित पौडेलले १०१ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाए । यस्तै देव खनालले ८१ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७६ रन बनाए भने ओपनर अनिलकुमार साहले २० बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए ।

त्यस्तै भीम सार्कीले २१ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए भने पवन सर्राफले ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाए । यस्तै आसिफ सेखले १६ बलमा १ चौकाको मद्दतमा १० रन बनाउँदा कुशल मल्ल र सोमपाल कामीले समान ९-९ रन जोडे । क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १-१ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्बाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् ।

त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए । पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवान्ले समान २०-२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : २७ बजे