५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अनिल र भीमको शतकमा नेपालको शानदार जित, क्यानडाविरुद्धको सिरिज क्लिनस्वीप



२९ माघ । अनिल साह र भीम सार्कीको शतकमा नेपालले एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाविरुद्ध शानदार जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गरेको हो । योसँगै नेपालले क्यानडाविरुद्धको सिरिज क्लिनस्वीप गरेको छ । सिरिज नेपालले ३-० ले जितेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

सोमबार क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर अनिल साह र भीम सार्कीले शतकीय इनिङ खेले । अनिलले १२४ बलमा नटआउट ११२ रन बनाए । सो क्रममा उनले १२ वटा चौका र २ वटा छक्का प्रहार गरे । यस्तै भीमले १२९ बलमा नटआउट १०१ रन बनाए । सो क्रममा उनले ११ वटा चौका र १ वटा छक्का प्रहार गरे ।

अनिल र भीमले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि अनिल र भीमले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए । त्यस्तै ओपनर कुशल भुर्तेलले १४ बलमा ३ चौकको मद्दतमा १३ रन बनाए । क्यानडाका लागि डिलोन हेलिगरले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् । त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामीले ३ विकेट लिए । यस्तै कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ४९ बजे