१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


दोलालघाट सुरक्षित राख्न तटबन्ध बनाइने



काभ्रेपलाञ्चोक
२ फागुन । काभ्रेपलाञ्चोकको पर्यकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले प्रक्रिया अघि बढाउने भएको हो ।

कार्यालयलाई बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत दुई नदी सुनकोशी र इन्द्रावतीबाट दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिएको जनाइएको छ ।
दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि निर्देशन भएको कार्यालयका प्रमुख विनय पौडेलले बताएका छन् ।

“प्रदेश सरकारबाट दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिनुभएको छ, अब प्रक्रिया अघि बढाउनेछौँ”, उनले भने । विसं २०७८ असारमा मेलम्चीबाट इन्द्रावती नदीहुँदै आएको बाढीले बस्ती कटान गरेपछि स्थानीयवासीले भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि तटबन्ध निर्माणको माग गर्दै आएका थिए ।

भुम्लु गाउँपालिकामा सञ्चालित योजना अनुगमन, निरीक्षण गर्न पुग्नुभएका मन्त्री तीर्थ लामाले स्थानीयलाई दोलालघाट बजार र पुल सुरक्षित गर्न तटबन्धनको प्रक्रिया तत्कालै थालिने बताएका छन् । “हामी यो बजार कसरी जोगाउन कसरी भन्ने हिसाबले तटबन्धलगायत संरचना निर्माण गर्न योजना बनाउन लाग्नेछौँ”, लामाले भने ।

मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती खोलाको सतहसमेत बढेपछि दोलालघाट बजार र अरनिको राजमार्गअन्तर्गत रहेको दोलालघाट पुल जोखिममा देखिएको थियो । वर्षैपिच्छे दुई नदीको सतह बढ्दा त्रासमा रहनुपर्ने जनाउँदै दोलालघाटका स्थानीयवासीले बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएको स्थानीयवासी हीराकाजी श्रेष्ठले बताए ।

उनले भने, “इन्द्रावती र सुनकोशीमा बाढी आउँदा सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ, यसकारण सबै तहका सरकारसँग दोलालघाट क्षेत्रको बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएका छौँ ।” उक्त पुल चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जानका लागि दोलालघाटको प्रयोग हुन्छ ।

मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती र सुनकोशी नदीमा खोलाको सतह बढ्दा दोलालघाटका दर्जन घरटहरा डुबानमा परेका थिए । सोही कारण बस्ती जोखिममापर्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोशी नदीमा तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको थियो । माछाका लागि प्रख्यात दोलालघाट इन्द्रावती र सुनकोशी नदीको संगलस्थल क्षेत्रमा फैलिएको बजार हो ।

यस्तै विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो भने २६ जनाको ज्यान गएको थियो । साथै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ४५ बजे