६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अधुरै रह्यो नेपालको एसिया कप खेल्ने सपना



४ फागुन । एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै तेस्रो पटक एसिया कप खेल्ने नेपालको सपना अधुरै भएको छ ।

मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताएकी हुन् । त्यस्तै मास एलिसाले १३ रन जोडदा महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन् ।

नेपालका लागि सीता रानामगर र कविता जोशीले समान दुई/दुई विकेट लिए भने रुविना क्षेत्री र कविता कुँवरले समान एक/एक विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो ।

नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाइन् । सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन् । कविता कुवरले ३१ बलमा २ चौकासहित २३ रन बनाइन् भने रुविना क्षेत्रीले १८ बलमा २ चौकासहित २० रन जोडीन् ।

मलेसियाकी महिराह इजाती इस्मालील २ विकेट लिइन् भने विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ । यो जितसँगै मलेसिया र युएई एसिया कपमा छनोट भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ४५ बजे