६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल नामिबियासँग पराजित



९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नामिबियाका लागि जेरार्ड इरास्मसले अर्धशतकीय इनिङ खेले । उनले ५६ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । यस्तै जेजे स्मितले ६६ बलमा ३४ रन बनाउँदा मिचेल भान लिनगेनले ३४ बलमा ३१ रन बनाए । रुवेन ट्रम्पलमनले १६ रनको योगदान गरे । नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा कुशल मल्ल, ललित राजवंशी, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६.२ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले अर्धशतकीय इनिङ खेले । आशिफले ६४ बलमा ५८ रन बनाए ।

यस्तै कुशल मल्लले ३६ रन बनाउँदा भीम सार्कीले २६ रनको योगदान दिए । कुशल भुर्तेलले १८ रन बनाए भने करण केसीले १२ रन बनाए । नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमा आउट भए । नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।

नेपाल जारी सिरिजको पहिलो खेलमा पनि नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भने नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । सिरिजको अर्को खेलमा शुक्रबार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने आइतबार सिरिजको अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १० : २१ बजे