२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


घरेलु मैदानमै नेपालको निराशजनक प्रदर्शन, तीन खेलमा पराजित



१३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले तेस्रो हार व्यहोरेको छ । घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग विकेटले पराजित भएसँगै नेपालले लिग टु मा तेस्रो हार व्यहोरेको हो । नेपालले यसअघि नामिबियासँगको दुवै खेलमा पराजय भोगेको थियो ।

आइतबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले अर्धशतकीय इनिङ खेले । विक्रमजितले ९२ बलमा ७ चौकाको सहयोगमा अविजित ५६ रन बनाए । यस्तै साएब्रान्ड एंगलब्रेक्टले ७५ बल खेल्दै ३ चौकाको सहयोगमा अविजित ४६ रन बनाए । विक्रमजित र साएब्रान्डले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे ।

त्यस्तै माइकल लेभिटले ३४ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ३९ रन बनाए भने म्याक्स ओ डाउडले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । पहिलो विकेटका लागि लेभिट र डाउडले ६१ रनको आक्रामक साझेदारी गरेका थिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चिएर एक विकेट लिए भने लिलित राजवंशीले १० ओभरमा ४२ रन खर्चिएर एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.३ ओभरमा १७२ रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ९३ बलमा ८ चौकाको सहयोगमा ६६ रन बनाए । यस्तै करण केसीले २७ बलमा २६ रन बनाए भने आरिफ शेखले ५० बलमा २२ रन जोडे ।

त्यस्तै आशिफ शेखले २७ बलमा १७ रन बनाउँदा कप्तान रोहित पौडेलले ४० बलमा १६ रन बनाए । अनिल साह ७, गुलसन झा ५, कुशल मल्ल २, दिपेन्द्र सिंह ऐरी १ र भीम सार्की शून्य रनमा आउट भए । नेदरल्याण्ड्सका विवियन किग्मा र आर्यन दत्तले समान ३-३ विकेट लिए । बास डी लिडेले २ विकेट लिँदा रुलोफ वान डेरले १ विकेट लिए ।

यससँगै नेपालले लिग टु अन्तर्गत घरेलु मैदानमा ३ खेलमा हार व्यहोर्दा १ खेलमा जित हासिल गर्‍यो । नेपाल भ्रमणमा आएका नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु टोलीले ४ खेलमा २ अंक मात्र जोड्न सफल भयो । नामिबियाले ४ खेलमा ६ अंक जोडेको छ भने नेदरल्याण्ड्सले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल पहिलो खेमला नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : ०२ बजे