१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित



१५ फागुन । नामिबियासँग नेपाल २० रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाबाट २०७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए। नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए।

नेपालका ओपनर कुशल भुर्तेल नामिबियाका रुबेन ट्रम्पलम्यानको एलबिडब्लूबाट गोल्डेन डकआउट भए। अर्का ओपनर आसिफ शेखले ६ रनभन्दा बढी जाेड्न सकेनन्।

कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। गुल्सन झा ६ बलमा १२ रन जोडेर आउट भए। सन्दीप जोराले ५ रन मात्र लिन सके। विवेक यादव पनि ६ रनमा आउट भए।

त्यसपछि सोमपाल कामीले ११ बलमा १ चौका र ३ छक्काको मद्दतमा २६ रन जोडे। उनी आठौं विकेटको रुपमा आउट भए। १९औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी ४८ रनमा आउट भए। उनले ३२ बलमा २ चौका र २ छक्का हाने। अर्को बलमा अभिनास बोहरा बोल्ड हुँदा नेपाल पराजित भयो। अन्तिम दुवै विकेट ट्रम्पलम्यानले लिए। बलिङमा नामिबियाका ट्रम्पलम्यानले चार विकेट लिए। जान फ्राइलिंक, बर्नाल्ड स्कोल्स र जान निकोलले २/२ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले जान निकोल लफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। निकोलले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गरेर कुशल मल्लको कीर्तिमान तोडे।

मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए। सिरिजमा अब नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ११ : १४ बजे