१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोडको टेण्डर आह्वान



१७ फागुन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।

भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो । महानगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको हो ।

भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ । रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइने वरिष्ठ ईन्जिनियर आचार्यले जानकारी दिए ।

टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ । रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूणर् काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।

महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया थालेको हो । यसअघि, वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्ष २०२४ को एउटा आर्कषक गन्तव्य रंगशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटन अगावै टेण्डर आह्वान गरिएको बताइन् । लामो समयको अथक मिहिनेत, प्रयास र तत्परताले रंगशाला निर्माण कार्य सुनिश्चित भएकाले नेपाली खेलकुद जगतका लागि उत्साह थपिएको उल्लेख गरे ।

उनले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी थालिने बताइन् । कात्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मोरङको विराटनगर, र काठमाडौंको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निणर्य गरेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ५ : ४६ बजे