१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेदरल्याण्ड्सलाई हराउँदै नेपाल फाइनलमा



१९ फागुन । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका हुन् ।

त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे । नेदरल्याण्ड्ससका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्याण्ड्ससले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।

नेदरल्याण्ड्ससका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी टिम भान डेर गुग्टेनले २४ रन जोडदा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई/दुई विकेट लिए । तेस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

सिरिजको एक खेल बाँकी रहँदा नेदरल्याण्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्याण्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०.२९३ छ ।

नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ । यो अवस्थामा आइतबार नेदरल्याण्ड्स विजयी हुँदा सोझै फाइनलमा पुग्नेछ । नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । यी दुईमध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनल खेल्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ११ : ४६ बजे