१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुखद समाचार : पेट्रोलियम पदार्थको आयात घट्यो



झापा
१७ चैत । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रु १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा रु १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।
पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०÷०८१ को आठ महिनामा रु चार अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ ।
आव २०७९÷०८० को सोही अवधिमा रु पाँच अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो । गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजेलको आयात घटेको छ ।पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : २५ बजे