१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


पनौती–खोपासी सडक कालोपत्र गर्न माग



धुलिखेल (काभ्रपलाञ्चोक)
२६ चैत । पनौती नगरपालिकाको रोशी खोला पुलबाट खोपासी बजार हुँदै बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको चार किलोमिटर सडकखण्ड कालोपत्र गर्न स्थानीयले माग गरेका छन् ।
लामो समयदेखि उक्त खण्डमा कालोपत्र नहुँदा यात्रा गर्न सास्ती हने गरेको भन्दै स्थानीयले कालोपत्र गर्न स्थानीयले माग गरेका हुन् ।
पनौती–१० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले वर्षौँ बितिसक्दा पनि कच्ची सडकमा कालोपत्र नहुँदा यात्राका क्रममा धुलो र खाल्डाखुल्टीका कारण स्थानीयले सास्ती खेप्नुपरेको भन्दै छिट्टै कालोपत्र गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताएका छन् ।
जिल्लाको पनौतीपछिको मुख्य बजारको रुपमा रहेको खोपासी बजारसम्म व्यवस्थित सडक नबन्नु विडम्बनाको विषय भएको उनको भनाइ छ ।
एकातिर सो बजार भएर जाने छिमेकी पालिका बेथानचोक, पनौती बजार, नजिकैको वडालगायत सबै ठाउँमा पक्की सडक निर्माण भइसकेको भन्दै वडा नं १० अझैपनि पिछडिएर बस्नु परेको वडाध्यक्ष भण्डारीको भनाइ छ । स्थानीयको समस्या तत्काल समाधान गर्नका लागि नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई ध्यानाकर्षण गर्दै कालोपत्र गर्न गर्न आग्रह गरिएको उनले बताए ।
“पहिला साँघुरो रहेको सडक विस्तार त भयो, तर स्तरोन्नति नगर्दा धुलो, हिलो र खाल्डाखुल्टीका कारण यात्रा गर्दा सास्ती हुने गरेको छ”, वडाध्यक्ष भण्डारीले भने, “वरिपरिको सहर बस्ती र सोही बजार भएर छिमेकी गाउँपालिकासम्म पुग्ने सडक कालोपत्र हुँदा बीचको यो वडाको मुख्य सडक अव्यवस्थित भएको छ ।”
सडक कालोपत्र गराउनको लागि नगरपालिका, प्रदेश र सङ्घ सरकारसँग छलफल गरिसकेको बताउँदै वडाध्यक्ष भण्डारीले प्राप्त आश्वासनलाई कार्यान्वयन गर्नका लागि नागरिक र सरोकारवालालेसमेत संयुक्त दबाब दिन आवश्यक रहेकामा जोड दिए । सो सडक कालोपत्र गर्नका लागि पूर्वाधार विकास कार्यालयले विस्तृत गुरुयोजनासमेत तयार गरिसकेको छ भने यसअघि रकमसमेत विनियोजन भए पनि कार्यान्वयन नगर्दा थप समस्या भइरहेको उनको भनाइ छ ।
पटक–पटक यो विषय उठान गरी आवश्यकताको बोध गराउँदा पनि त्यसको कार्यान्वयन नहुने अवस्था भएमा विसं २०८१ वैशाख १६ गतेदेखि दबाबमूलक कार्यक्रम गर्ने वडाध्यक्ष भण्डारीले बताए । सडक कालोपत्र गराउने विषयमा सबैको सहयोगको अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ३३ बजे