१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


हङकङलाई हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा



३ वैशाख । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो । अल अमेरत मैदानमा जितका लागि ११५ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १२.२ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रमक शुरुवात दिलाएका थिए । नेपालका लागि आसिफले सर्वाधिक ४० रन बनाए । १८ बल खेलेका उनले ३ छक्का र ३ चौका प्रहार गरे । यस्तै कुशलले १९ बलमा ३२ रन बनाए । सोक्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल २० बलमा ३ चौकको सहयोगमा २५ रन तथा सन्दीप जोरा १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाउँदै नटआउट रहे । हङकङका लागि यासिम मुर्तजा र एहसान खानले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १७.५ ओभरमा ११४ रनमा अलआउट भएको थियो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो ।

हङकङका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए । २६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । ओपनर मार्टिन कोट्जी ८ रनमा आउट भए ।

नेपालका लागि अभिनाष बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।

यस जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । ३ खेलमा २ अंक जोडेको हङकङ भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १० : ०४ बजे