२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


दक्षिण ललितपुरको गोटिखेलमा स्व.प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता



पाटन (ललितपुर)
११ वैशाख । दक्षिण ललितपुरको गोटिखेलमा प्रदेशस्तरिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रधानमन्त्री पुत्र स्व. प्रकाश दाहाल तथा पुत्री स्व.ज्ञानु दाहालको सम्झनामा स्थापना प्रज्ञा स्मृति प्रतिष्ठानका सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता यही वैशाख २२ देखि २५ गतेसम्म हुने ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगिताका सम्पूर्ण खेल ललितपुर महाकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा हुने जानकारी गराइएको छ । प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी गराइएको छ ।

प्रतिष्ठानले ललितपुर जिल्ला खेलकुद विकास समितिमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका साथै सहभागी टिमहरु, पुरस्कार राशि तथा लागत खर्चसमेतको विषयमा जानकारी गराइएको हो ।

प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगितासम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको जानकारी गराइन् । “समितिहरुले द्रुतगतिमा तयारीका कार्य गरिरहेका छन् । प्रतियोगितामा प्रदेशभरका एक सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ । सबै पालिकामा पत्राचार गरिसकिएको छ । यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ”, संयोजक गोलेले भनिन् ।

कूल पुरस्कार राशि रु १२ लाख रहेको प्रतियोगिताको विजेतालाई रु तीन लाख, उपविजेतालाई रु दुई तथा तृतीय हुने रु दुई टिमलाई रु एक÷एक लाख प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी पाँच जनालाई जनही रु ५० हजार पुरस्कार रहेको छ ।

प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सहआयोजक रहेको जानकारी गराउदै उनले प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ । यसैगरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको बताइन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्रीका निजी सचिवालय सदस्य शान्ताकुमार दराईले युवामा स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यका साथ स्थापित प्रतिष्ठानले खेलकुदलगायतका कार्यक्रम गर्दै आएको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै खेलकुदलगायतका विभिन्न सामाजिक काम तथा कार्यक्रम गर्दै आइरहेको उनले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) ललितपुरका इञ्चार्ज हरि दाहालले प्रतियोगिता सफल पार्नका लागि पार्टीका स्थानीय कमिटीलाई समेत परिचालन गरिएको बताए । “हामीले बागमती प्रदेशभित्रका स्थानीय खेलाडीलाई प्राथमिकता दिएर खेल सञ्चालन गर्न लागेका हौँ । यसमा विभागीय टिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराइने छैन । टिम दर्ताका लागि पालिकाको सिफारिसमा नाम उल्लेख हुनु अनिवार्य छ”, दाहालले भने ।

प्रतियोगिताका कारण दक्षिणी भेगमा रहेका स्थानको व्यापकरुपमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । यस क्षेत्रका महाकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले विश्वास गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : ५७ बजे