३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित



१६ वैशाख । दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको छ । वेष्ट इन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले । ४८ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा अविजित ७१ रन बनाए । गुल्शन झाले ११ बलमा २६ रनको योगदान गरे । सोक्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले १६ बलमा २ छक्का र १ चौकाको सहयोगमा १७ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल ८ बलमा २ रन बनाएर आउट भए ।

यस्तै आरिफ शेखले १६ बलमा १ चौकाको सहयोगमा १२ रन बनाए । यसबाहेक नेपालका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आकाश चन्दले ७, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान ३-३ तथा अनिल साहले १ रन बनाउँदा कुशल मल्ल शून्य रनमै आउट भए । वेस्ट इन्डिजका ओबेद म्याक कोए र गुडाकेश मोतीले २-२ विकेट लिए । ओशान थोमस र रोस्टन चेजको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डि ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए । नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई-दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।

जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । योसँगै वेस्ट इन्डिजले सिरिजमा १-१ को बराबरी गरेको छ। सिरिजअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको तेस्रो खेल आउँदो बुधबार हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ४८ बजे